नसर्ने रोग परीक्षणका लागि एक महिने अभियान

सरकारको परीक्षण अभियानले कसरी नियन्त्रण हुन्छ नसर्ने रोगहरु ?

विहीबार, ०८ फागुन २०८१, १६ : ३६

काठमाडौं– सरकारले नसर्ने रोगहरूको देशैभरि निःशुल्क परीक्षणका लागि एक महिने अभियान सुरु गरेको छ । यो अभियान सुरु गरेसँगै नसर्ने रोगहरू कस्ता किसिमका रोग हुन् र स्वास्थ्यमा कस्तो असर हुन्छ भन्नेबारे चर्चा हुन थालेको छ । 

नेपाल तथा विश्वभर नै समयसमयमा सरुवा प्रकृतिका रोगहरु फैलने र महामारीको रुप लिने गरेको पाइन्छ । यस्तोमा सरुवा रोगका विभिन्न खोप तथा बच्ने उपायहरु सुल्झिने गर्दछन् । तर नसर्ने रोग पनि विभिन्न कारणले मानव स्वास्थ्यमा समस्या उत्पन्न गराएर ज्यान लिने स्थिति सिर्जना हुने गरेको छ । 

नसर्ने रोगको खतरा विश्वभर नै बढ्दै गएको अवस्थामा सरकारले परीक्षणका लागि चालेको कदम ठीक भएको स्वास्थ्यविद्हरु बताउँछन् । सर्ने रोगहरु रोगको प्रकृति अनुसार फरक फरक उमेरका मानिसलाई हुने भए पनि नसर्ने रोगहरु सबै उमेर समूहका व्यक्तिहरुमा हुन सक्छ । 

नसर्ने रोग नेपालमा मात्र नभएर विश्व समुदायमा नै बढिरहेको हुनाले सबै देशका लागि यो समस्या बनेको छ । मानिसहरुको बढ्दो व्यस्तताका कारण फेरिएको जीनवशैलीे पनि नसर्ने रोग बढ्नुको कारक हो ।

सरुवा रोगहरु लाग्दा एकै किसिमका लक्षण देखिने गर्छ । यस्ता रोगहरु विशेष समयमा मात्र देखिने वा मौसम अनुसार फैलने र निको हुने गर्दछ । तर नसर्ने रोगहरु भने जुनसुकै समयमा पनि लाग्न सक्ने प्रकृतिका हुन्छन् । 

नसर्ने रोगहरुमा मुटुरोग, डाइबिटिज, क्यान्सर, मधुमेह र थाइरोइडजस्ता रोगहरु बढी मात्रामा देखिनेमा पर्दछन् । मेडिकल विज्ञानको विकाससँगसँगै मानिसको आयु बढिरहेको छ भने नसर्ने रोगको पनि भयावह बढेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा बर्षेनी मृत्यु हुने संख्यामध्ये नसर्ने रोगका कारण ४२ प्रतिशत मानिसको मृत्यु हुने गरेको पाइन्छ । त्यस्तै, संसारभर हुने कुल मृत्युको ७४ प्रतिशत मृत्यु नसर्ने रोगका कारणबाट हुने गरेको तथ्यांक छ । 

विश्वभर यसरी प्रतिवर्ष ४१ मिलियन व्यक्तिको मृत्यु हुन्छ । ७० वर्ष उमेर नपुग्दै मृत्यु हुने व्यक्तिमध्ये १७ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ । उमेर नपुग्दै हुने मृत्युको ८६ प्रतिशत व्यक्ति कम आय हुने वा गरिबी मुलुकमा हुने गरेको छ भने ७७ प्रतिशत यस्तो मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ । 

प्रमुख चारवटा नसर्ने रोगमध्ये वार्षिक १७.९ मिलियन व्यक्तिको मृत्यु नसर्ने प्रकारको मुटु रोगसँग सम्बन्धित कारणले हुने गरेको छ । त्यस्तै क्यान्सरबाट ९।३ मिलियन, दीर्घ श्वासप्रश्वास रोगबाट ४.१ मिलियन र मधुमेह तथा मधुमेहसँग सम्बन्धित जटिलताबाट दुई मिलियन व्यक्तिको मृत्यु हुने गरेको छ । 

नेपाल पनि नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा विवरण संकलन हुने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन् । तर, प्राप्त विवरणलाई नै आधिकारिक तथ्यांक भन्न नसकिने उनको भनाइ छ । ‘मानिसहरू आपत्मा रहेको अवस्थामा घटनाको बारेमा जानकारी दिने नगरेकोले त्यस्तो अवस्थामा मृत्युको विवरण सरकारी निकायसम्म आउँदैन ।’ उनले भने ।

बढिरहेको नसर्ने रोगहरुमा विशेषतः मुटु रोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी धेरै रहने गरेका छन् । पछिल्लो समय नसर्ने रोग नै मृत्युको प्रमुख कारण बनिरहेको छ । नसर्ने रोगहरु मानिसपिच्छे फरक प्रकृति हुने हुँदा पहिचानमा पनि कठिनाई हुने गर्दछ । 

यस्तो अवस्थामा रोग पहिचानकै क्रममा मृत्यु पनि हुने गरेको छ । मानिसहरुमा एकै किसिमको लक्षणहरु देखिएपनि फरक रोग हुन सक्छ यसका साथै नसर्ने जुनसुकै किसिमका रोग लागेतापनि शरीरमा परिवर्तन देखिने खालका विभिन्न लक्षण देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

नसर्ने रोगले विस्तारै विस्तारै स्वास्थ्यमा असर गरिरहेको हुने भएतापनि ठुलै रुप नलिएसम्म भने वेवास्ता नै हुने गर्दछ । जति सरुवा रोगमा सचेत हुने गरिन्छ नसर्ने रोगमा रोगी आफू पनि सचेत बनेको पाइँदैन। यस्तै लापरवाहीका कारण बिरामीलाई भित्रैभित्रै असर पर्दा नसर्ने रोगले चाँडो ज्यानसमेत लिने गरेको छ । 

समयमै पहिचान गर्न सकेमा नसर्ने रोग निदान तथा निर्मुल पनि पार्न सकिन्छ। नसर्ने रोग पहिचानका लागि स्वास्थ्य मन्त्रालयले हालै चलाएको परिक्षण अन्तर्गत प्रत्येक स्थानीय तहहरुमा नै परिक्षणको काम फागुन १ गतेबाट नै सुचारु गरेको छ । प्रत्येक स्थानीय तहका आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु, स्वाथ्य चौकी, वास्थ्य सेवा केन्द्रहरु र आधारभुत अस्पतालहरुमा अहिले यस्तो परिक्षण भईरहेको प्रवक्ता बुढाथोकीले बताए । 

परीक्षण गरिने केन्द्रहरुमा व्यक्तिको उचाई अनुसारको तौल भए नभएको, रगतमा सुगर मात्रा, मृगौलासम्बन्धि रोगहरुको जाँच, मधुमेहको स्क्रिनिङ, उच्च रक्तचापको स्क्रिनिङलगायतको परिक्षण गरिरहेको छ । शरीरमा असामान्य र असाधारण लक्षण देखिएमा नसर्ने रोगको परिक्षण गराउन जरुरत हुन्छ । 

विभिन्न सरुवा रोगको निदान गर्न खोप तथा औषधीहरुको व्यवस्था भएजस्तै अहिले सरकारले नसर्ने रोगको पनि परीक्षण गरि उपचार गर्न सहज बनाउनका लागि सरकारले यो अभियान सुरु गरेको प्रवक्ता बुढाथोकीले बताए । रोग पहिचान भएपछि स्वास्थ्य मन्त्रालय निर्देशिका अनुसार अघि बढ्ने छ । 

सरकारले अभियानका क्रममा भेटिएका बिरामीहरुलाई सम्बन्धित अस्पतालहरुमा पठाउने काम पनि सँगसँगै अघि बढ्ने उनले बताए । मन्त्रालयले नसर्ने रोगबाट आउनसक्ने भयावह स्थिति सिर्जना हुन नदिन अभियान सुरु गरेको र यसबाट नसर्ने रोगसम्बन्धि चेतनामा वृद्धि हुने उनको भनाई छ ।

विहीबार, ०८ फागुन २०८१, १६ : ३६

प्रतिक्रिया