दाङका किसान वीरेन्द्र खड्काको सफल स्ट्रबेरीखेती, वार्षिक छ लाख बचत

आइतबार, ११ फागुन २०८१, ०९ : २१

काठमाडाैं- आफ्नै भूमिमा केही नयाँ र लाभदायक गर्नुपर्छ भन्ने अठोटका साथ किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु) खेती सुरु गरेका छन्। विगत दुई वर्षदेखि यस व्यवसायमा संलग्न खड्काले हाल वार्षिक छ लाख रुपैयाँ बचत गर्न सफल भएका हुन्।

२६ वर्षीय खड्काले आफ्नो स्थायी घर रोल्पा माडी गाउँपालिका–1 जबाङ दुदिलाबोटबाट दाङको घोराही उपमहानगरपालिका-१४ झिँगौरामा स्ट्रबेरीखेती गर्दै आएका छन्। हाल १६ कट्ठा जमिनमा व्यावसायिक रूपमा खेती गर्दै, उनले वार्षिक १४ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएका छन्।

स्थानीय बजारमै स्ट्रबेरीको राम्रो माग रहेकाले प्रति किलो ८०० रुपैयाँमा बिक्री हुने गरेको छ। अहिले फार्म छेउमै लागेको महोत्सवका कारण माग झनै बढेको छ, जसले गर्दा उनले दैनिक ५० किलोसम्म स्ट्रबेरी बिक्री गर्दै आएका छन्। हालसम्म मात्रै उनले चार लाख रुपैयाँभन्दा बढीको स्ट्रबेरी बिक्री गरिसकेका छन्।

कृषि अध्ययन गरेका खड्काले छ वर्षअघि पुष्प व्यवसायका रूपमा कृषि फार्म स्थापना गर्नुभएको थियो। पछि नयाँ सम्भावना खोज्दै उनले दुई वर्षअघि स्ट्रबेरीखेती सुरु गरे। दाङको झिँगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर उनले यो व्यावसायिक खेती विस्तार गरेका हुन्।

खड्काले स्ट्रबेरीखेतीसँगै चाडपर्वका लागि सयपत्री फूल खेती गर्ने तथा गर्मी मौसममा खरबुजा खेती पनि गर्ने बताए। आधुनिक प्रविधि अपनाउँदै मल्चिङ र थोपा सिंचाइ प्रविधि प्रयोग गर्दा सुरुमा ८ लाख रुपैयाँ लगानी भए पनि अहिले राम्रो आम्दानी दिन थालेको उनि बताउँछन्।

स्ट्रबेरी चिसो मौसममा राम्रो फल्ने भएकाले यहाँको हावापानी अनुकूल देखिएको छ। उत्पादन भएका फलहरू घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेका छन्। खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जमिनमा स्ट्रबेरी खेती विस्तार गरेका छन्।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थशास्त्री पृथ्वीराज लामिछानेका अनुसार दाङमा स्ट्रबेरी खेतीको सम्भावना अत्यन्त राम्रो छ। बजार सानो भएकाले विशेषगरी प्याकिङ र ढुवानीमा ध्यान दिनुपर्ने सुझाव उनले दिएका छन्। लामो समयसम्म स्टोर गर्दा बिग्रने सम्भावना भएकाले किसानहरूले उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै आधुनिक प्रविधि र नवीनतम सोचका साथ अघि बढेका वीरेन्द्र खड्का जस्ता युवा किसानहरूले मुलुकमै रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको मार्ग प्रशस्त गरिरहेका छन्। उनको सफलताले अन्य किसानलाई पनि प्रेरित गर्ने विश्वास गरिएको छ।

 

आइतबार, ११ फागुन २०८१, ०९ : २१

प्रतिक्रिया