काठमाडौं - महाशिवरात्री हिन्दुहरूको एक प्रमुख चाड हो । विश्वमा हिन्दुहरूले मनाउने यस पर्वमा नेपालमा भगवान् पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइँदै आएको छ ।
मूलतः नबरात्रमा चार महारात्री मुख्य रूपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखि मुख्य रूपमा मनाइँदै आइएको छ । विशेष गरी महाशिवरात्रीलाई भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा मनाइँदै आएकोले यस दिन शिवपूजा, आराधना गर्ने उपवास बस्ने, जलधारा दिने र रात्रीमा दियो बाली धुनि तापि जाग्राम बस्ने गर्नाले शिवजी खुसी हुने किम्बदन्ति छ ।
आदी अन्त्य नभएका, जन्मनु, मर्नु नपर्ने, देवताका पनि देवता, तीन मुर्तीका एक मुर्ते भएका, कहिले व्रम्हा , विष्णु, महेश्वर भइरहने, समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष घाटीमा राखी निलकण्ठ भइरहेका, योगमाया भगवतीका प्रिय हुनुभएका प्रभुको यसै शिवरात्रीका दिन गाईको दूधको जलधारा दिनाले, पुजाआजा गर्नाले, उपबास बस्नाले, यस लोकमा सुख, शान्ति पाई परलोकमा कैलाशपद मिल्ने हुनाले अन्य दिन भन्दा महाशिवरात्री विशेष मानिन्छ ।
देवादिदेव भगवान् महादेवका यिनै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन महाशिवरात्रीको पूर्वसन्ध्यामा सार्बजनिक भएको छ । उक्त भजनमा आफ्नो मधुर संगीत र ओजपूर्णस्वर दिएकी छिन् बबिना भट्टराईले । भजनमा शिव महिमाका शब्दहरु लेखेका हुन् दिनेश खनालले । महाशिवरात्री पर्वको विशेष अवसरमा बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्वजनिक भएको उक्त भजनमा ऐरेन्ज रहेको छ रुविन कुमार श्रेष्ठको । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर शिव भजनको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
शिव भजन जय जय शम्भु को भिडियोमा गायिका तथा संगीतकार बबिना आफै फिचर्ड छिन् । काठमाडौको पूर्वोत्तरमा रहेको प्रशिद्ध तीर्थस्थल गोकर्णेश्वर जहाँ विशेष शिवलिङ्ग स्थापित गरिएको छ सोही स्थान गोकर्णेश्वर नगरपालिका, उत्तर बाहिनीको धार्मिक स्थलमा एजे अजुको निर्देशनमा निर्माण गरिएको भिडियोमा बबिना एउटी शिव भक्तिनीको रूपमा शिव भजनमा मन्त्रमुग्ध भएर भजन भित्रै आफूलाई हराएकी छिन् ।
भजनमा उनी यति डुवेकी छिन् मानौँ भजन गाइरहँदा साक्षात देवाधिदेव महादेव उत्तर बाहिनीमा प्रकट हुनु भएको छ । भिडियोमा उनको भेषभूषाले सबै नारीहरुले अनुसरण गर्नु पर्ने एउटी साध्वी नारीको रूपमा उनी प्रस्तुत भएकी छिन् ।
महाशिवरात्रीको सन्दर्भ विशेषमा आफ्नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक शिव भजन जय जय शम्भु नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरूमा यसै च्यानल मार्फत आफ्ना विविधतायुक्त भजनहरू भजन प्रेमी दर्शक, श्रोताहरू माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्क्राइव, लाइक, कमेन्ट, शेयर गरी सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।
भगवान् प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान् श्री कृष्ण, भगवान् श्री राम, भगवान् महादेव लगायतका विभिन्न भजनहरू विगतका दिनहरूमा बीणा भक्ति युट्युब च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् ।
गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरूमा पनि भजनद्वारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
प्रतिक्रिया