काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा गरेपछि नेपाल स्टोक एक्सचेञ्ज (नेप्से)को सूचकांक २९०० विन्दु माथि पुगेको छ।
साताको दोस्रो कारोबार दिन नेप्से २९०० विन्दु पार गर्दै ११:०४ मिनेट जाँदा २९२५ विन्दुमा पुगेको हो । यसअघि २०७८ भदौं र २०८१ भदौंमा पनि यस्तै उचाइमा नेप्से पुगेको थियो।
समाचार तयार पार्दासम्म, कारोबार सुरु भएको केही घन्टामा नै ६.५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भइसकेको छ। यसबेला जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ताहरूको आकर्षण बढी देखिएको छ। यसले बजारमा सकारात्मक प्रभाव पार्दै नेप्सेको वृद्धि जारी राख्न मद्दत पुर्याएको छ।
राष्ट्र बैंकको मौद्रिक नीति समीक्षामा असल कर्जाको प्रोभिजन दर १.१ प्रतिशतबाट घटेर १ प्रतिशतमा झरिदा, बैंकहरूको नाफा करिब ५ अर्ब रुपैयाँ बढ्ने अनुमान गरिएको छ। यसले आगामी दिनमा वित्तीय संस्थाहरुको नाफा वृद्धि र बजारको स्थिरता अझै बलियो बनाउने अपेक्षाहरूलाई जन्म दिएको छ।
प्रतिक्रिया