बैंकिङ प्रणालीमा तरलता बढेको बढ्यै, बैंकहरुले घटाउन थाले निक्षेपको ब्याजदर

मंगलबार, २० फागुन २०८१, १७ : ११

काठमाडौं– आर्थिक गतिविधी सुस्ताउँदै जादाँ देशको अर्थतन्त्रमा चुनौती झनै थपिँदै गएको छ । बढ्दो आर्थिक तरलताको कारणले गर्दा बैंकहरुले निक्षेपको ब्याजदर पनि घटाउँदै गएका छन् । हाल मात्र नभएर पछिल्लो डेढ वर्षदेखि नै निक्षेपको ब्याजदर घट्ने क्रम जारी नै रहेको छ । 

लगानीका लागि पर्याप्त रकम भएका कारण पनि बैंकहरुले निक्षेप कायम भएको ब्याज पनि घटाउन थालेका हुन् । अहिले स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा पनि तल आएको छ । स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.११ प्रतिशतमा झरेको हो । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.४४ र एभरेष्ट बैंकको ५.६३ प्रतिशतमा झरेको छ । 

कुनै समय लगानीका लागि रकम अभाव हुँदा बैंकहरुले निक्षेप तान्नका लागि आकर्षक ब्याजदर दिएका थिए । बैंकहरुमा तरलताको अभाव भएको भन्दै २०७८ भदौ महिनामा बैंकहरुबीच ब्याजदर वृद्धिको प्रतिस्पर्धा नै चलेको थियो । त्यतिबेला वाणिज्य बैंकहरुमा मुद्दति निक्षेपको ब्याजदर ११.६७ प्रतिशतसम्म पुगेको थियो । सो समयमा राष्ट्र बैंकको फितलो नियमनमाथि प्रश्न समेत उठेको थियो । 

अहिले भने कर्जा लगानी नभएको कारणले पनि निक्षेपमा ब्याजदर घटेको हो । एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल ऋण लगानी हुन नसकेकोले नै बैंकले निक्षेपमा दिने ब्याजदर घटेको बताउँछन् । यसका साथै कर्जाको ब्याजदर घटेको कारणले पनि निक्षेपमा ब्याजदर बढाउन नसकिने पौडेलको भनाई छ । 

‘बैंकहरुको आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो । यसमा पनि बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन् । आधार दर घट्दा बैंकले दिने ऋणमा ब्याज सस्तो परेपनि बैंकहरुले भने निक्षेपमा ब्याजदर घटाएर सन्तुलन मिलाउन खोजेका छन् ।’, नायब महाप्रबन्धक पौडेलले भने । उनले आधार दर घट्दा कर्जा र निक्षेप केही सन्तुलित भएको बताए । । 

नबिल बैंकका सिनियर डीसीईओ मनोज ज्ञवाली बैंकहरुमा बढेको अधिक तरलताको कारण निक्षेपको ब्याजदर घटेको बताउँछन् । आर्थिक तरलताका कारण हाल नेपाल राष्ट्र बैंकले हरेक हप्ताजसो लगातार तरलता खिच्दै आएको छ । 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजानिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ मा गरिएको २०८०/८१ को समीक्षाअनुसार आर्थिक वर्ष २०८०/८१ मा स्थायी निक्षेप सुविधामार्फत रु.३५२२ अर्ब ३५ करोड र निक्षेप संकलन बोलकबोल मार्फत् रु.११५१ अर्ब २५ करोड गरी कुल रु.४६७३ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो । 

समीक्षामा भनिएको छ, ‘समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.८०३ अर्ब ५६ करोड गरी कुल रु.८०४ अर्ब ७६ करोड तरलता उपयोग गरेका छन्। फलस्वरुप, समीक्षा वर्षमा खुद रु.३८६८ अर्ब ८४ करोड तरलता प्रशोचन भएको छ । 

अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद रु.५४०९ अर्ब ९९ करोड तरलता प्रवाह गरिएको थियो ।’ बजारमा तरलता बढ्दा निक्षेपको ब्याजदर घट्नु अर्थतन्त्रको सामान्य नियम नै भएको सिनियर डीसीईओ मनोज ज्ञवाली बताउँछन् । उनका  अनुसार ऋणको माग नै नभएपछि त्यसको प्रत्यक्ष प्रभाव निक्षेपको ब्याजदरमा परेको हो ।  

नबिल बैंकका सिनियर डीसीईओ ज्ञवालीले भने,‘बैंकिङ क्षेत्रको तरलता अहिले हरेक दिन ७ देखि ८ अर्ब सम्म छ, तर बजारमा भने तरलता एकदम कम छ । निक्षेपकर्ता बढिरहेका छन्, कर्जा लिनेको संख्या भने बढेको छैन । मानिसले लगानीको लागि कर्जा लिन नै चाहेका छैनन् निक्षेप भने बढी नै रहेको छ फलस्वरुप निक्षेपको ब्याजदर घटेको हो ।’ जबसम्म बैंकमा भईरहेको आर्थिक तरलता घटेर बजारमा बढ्दैन तबसम्म निक्षेपको ब्याजदर नबढ्ने ज्ञवाली बताउँछन् । 

राष्ट्र बैंकले जारी गरेको २०८०/८१ को समीक्षामा २०८१ असारमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत, विकास बैंकहरुको ११.३४ प्रतिशत र वित्त कम्पनीहरुको १२.५५ प्रतिशत प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै, २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत, विकास बैंकहरुको ६.६३ प्रतिशत र वित्त कम्पनीहरुको ७.९३ प्रतिशत कायम भएको थियो । २०८१ असारमा वाणिज्य बैंकहरुको औसत आधार दर ८.०० प्रतिशत, विकास बैंकहरुको ९.७१ प्रतिशत र वित्त कम्पनीहरुको ११.२१ प्रतिशत कायम भएको बैंकले बताएको थियो । तर चालु आवको ६ महिनामा निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर पनि घटेको छ । 

बैंकहरुले कर्जा दिने प्रमुख स्रोत निक्षेप नै हो । निक्षेप बढी मात्रामा संकलन गर्नका लागि निक्षेपकर्तालाई धेरै ब्याजदर दिनुपर्छ तर अहिले कर्जा लिनेको संख्या नबढ्दा बैंकमा तरलता बढ्ने र बजारमा अभाव हुने स्थिति सिर्जना भएको छ । 

बजारमा बैंकहरुले कर्जाको ब्याजदर बढाएकोले ऋण लिनेको संख्या घटेको भन्ने भ्रम मात्र सिर्जना भएको भन्दै नबिल बैंकका सिनियर डीसीईओ ज्ञवाली भन्छन्,‘बजारमा बैंकिङ क्षेत्रमा आर्थिक तरलताको हुनुको कारण बैंकहरुले कर्जामा बढी ब्याजदर लिनु नै हो भन्ने भ्रम पनि सिर्जना भएको थियो तर ब्याजदर घटाउँदा पनि ऋणको माग भने सोचेअनुरुप बढेको छैन ।’ कर्जाको ब्याजदर घटाउँदा पनि ऋण लिएर लगानी गर्नेको संख्या न्यून छ तर निक्षेपको ब्याजदर घट्दा कम ब्याजदरमै भएपनि पैसा बचत गर्नेको संख्या भने नघटेको ज्ञवालीको भनाई छ । 

आर्थिक बजारलाई चलायमान बनाउनका लागि पैसाको गतिशिलता बैंकमा नभई बजारमा बढ्नुपर्छ । लगानीको लागि बजारमा सुरक्षित महसुस भएर ऋणको माग नबढ्ने हो बैंकमा तरलता झनै बढेर जान्छ । तरलता बढ्दै जाने र कर्जा पनि कम लगानी हुँदा निक्षेपको ब्याजदर झनै घट्ने देखिन्छ ।

मंगलबार, २० फागुन २०८१, १७ : ११

प्रतिक्रिया