काठमाडौं– नेपालको सुनचाँदी व्यवसाय क्षेत्र विगत केही दशकदेखि निरन्तर विस्तार र विकासको क्रममा रहेको छ । यस क्षेत्रमा व्यवसायीहरूको हकहित, व्यवसायिक वातावरण सुधार तथा कालीगढहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न व्यक्तित्वहरूले योगदान दिएका छन् । तीमध्ये बाल कुमार विश्वकर्मा (सुमन) एक परिचित र सक्रिय नाम हुन् । विगत दशकौँदेखि सुनचाँदी क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति कायम राख्दै आएका उनले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आएका छन् ।
बाल कुमार विश्वकर्मा (सुमन)ले सुनचाँदी व्यवसायलाई केवल व्यापारको रूपमा मात्र नभई रोजगारी, सीप विकास र आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा हेर्दै आएका छन् । व्यवसायीहरूका समस्या सम्बन्धित निकायसम्म पुर्याउने, समाधानका लागि पहल गर्ने तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न उनले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । विशेषगरी सुनचाँदी कालीगढहरूको हकहित संरक्षण, सीप अभिवृद्धि र पेशागत सम्मानका लागि उनले विभिन्न कार्यक्रम तथा पहलहरूमा सक्रिय सहभागिता जनाएका छन् ।
उनको नेतृत्व यात्रा पनि निकै प्रेरणादायी छ । २०५६ सालमा स्थापना भएको नेपाल सुनचाँदी कला व्यवसायी संघको स्थापना कालमा सदस्यको जिम्मेवारीबाट आफ्नो संगठनात्मक यात्रा सुरु गरेका उनले केन्द्रिय सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष हुँदै महासचिव हुँदा आर्थिक अनुशासन र पारदर्शितालाई प्राथमिकता दिएका थिए ।
त्यसपछि महासचिवको भूमिकामा रहँदा संघलाई अझ सशक्त र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएका थिए । महासचिवको हैसियतमा उनले संघका गतिविधिलाई व्यवस्थित बनाउने, सदस्यहरूको सहभागिता बढाउने तथा व्यवसायीहरूको साझा आवाजलाई बुलन्द बनाउने काम गरेका थिए ।

आज उनी नेपाल सुनचाँदी कला व्यवसायी संघको नेतृत्व सम्हाल्ने तयारीमा छन् । उनको उम्मेदवारीलाई व्यवसायीहरूले निकै आशाका साथ हेरेका छन् । लामो अनुभव, व्यवसायप्रतिको प्रतिबद्धता तथा विगतमा संगठन सञ्चालनमा देखाएको दक्षताका कारण उनी सक्षम नेतृत्वको रूपमा स्थापित छन् । उनको नेतृत्वमा संघ अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बन्ने आम व्यवसायीहरूको विश्वास छ ।
सुनचाँदी व्यवसायले हाल विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । कर नीति, भन्सार दर, दक्ष जनशक्तिको अभाव तथा अन्तर्राष्ट्रिय बजारको प्रभावजस्ता विषयहरू व्यवसायीहरूको चासो र चिन्ताका विषय हुन् । यस्ता चुनौतीहरूको समाधानका लागि सरकारसँग समन्वय गर्दै व्यवसायीहरूको हित सुनिश्चित गर्न सक्षम नेतृत्व आवश्यक छ ।
त्यसका लागि उनले अध्यक्ष पदमा आफूले उम्मेदवारी दिएको बताउँछन् । राज्य व्यवसायमैत्री नभएको वर्तमान अवस्थामा बाल कुमार विश्वकर्मा (सुमन)ले यिनै विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘लामो समयदेखि स्ंघमा रहेर काम गरेकाले व्यवसायीहरूको हित र एकताका लागि मेरो उम्मेदवारी हो ।’,उनी भन्छन्, ‘आगामी दिनमा संघलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउन मेरो मुख्य भूमिका हुनेछ ।’
अध्यक्ष पदका उम्मेदवार बाल कुमार विश्वकर्मा (सुमन)को नेतृत्वमा सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ । साथै, कालीगढहरूको सीप विकास र नयाँ पुस्तालाई यसमा आकर्षित गर्ने तथा व्यवसायीहरूको एकता सुदृढ गर्ने कार्य समेत उनले आफ्नो एजेन्डामा प्राथमिकताका साथ समाबेश गरेका छन् ।

सदस्यहरू सर्वसम्मत भएकोले उनको प्यानलमा द्वितिय उपाध्यक्षमा आकाश रिजाल र महासचिवमा प्रेम विश्वकर्मा उम्मेदवार रहेका छन् । उनीहरूलाई संघका निवर्तमान अध्यक्ष केसर बहादुर विश्वकर्मा, पूर्व अध्यक्षहरू राम प्रसाद लकान्द्री, रूद्र बहादुर बराईली, द्वारिका शंंकर लगायतको समर्थन रहदै आएको छ ।
बाल कुमार विश्वकर्मा (सुमन) सुनचाँदी व्यवसाय क्षेत्रका अनुभवी, कर्मशील र व्यवसायीहरूको हितमा समर्पित व्यक्तित्व हुन् । संघको सदस्यदेखि महासचिव हुँदै अहिले नेतृत्व सम्हाल्न अग्रसर उनको यात्रा अनुभव, समर्पण र जिम्मेवारीको उदाहरण हो । व्यवसायीहरूको विश्वास र समर्थनसँगै उनले सुनचाँदी क्षेत्रको विकास, संरक्षण र समृद्धिका लागि अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया