आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, २५ फागुन २०८१, १५ : २८

काठमाडौं - आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा आज काठमाडौंको अम्रपाली बैन्क्वेट, भाटभटेनीमा सम्पन्न भएको छ।

सभा सञ्चालन गर्दै, कम्पनीका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको उत्कृष्ट प्रदर्शन र आगामी योजनाबारे जानकारी दिएका छन्। अध्यक्ष ढकालले उद्घाटन भाषणमा बीमाको महत्त्व र यसको नागरिकको जीवनसँगको नजिकको सम्बन्धको बारेमा चर्चा गर्दै भने, “जीवनका अनपेक्षित जोखिमहरूबाट बच्न बीमा सबैभन्दा भरपर्दो उपाय हो।” उनले कम्पनीले विगत दुई दशकमै नागरिकहरूको जीवनमा जोखिम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै समग्र अर्थतन्त्रमा यसको योगदानको मूल्यांकन गरे।

समीक्षा वर्षमा कम्पनीले ३.६३ अरब बीमाशुल्क आर्जन गरी ७.१२ प्रतिशतको वृद्धि गरेको छ । त्यसैगरी कम्पनीले आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने २९ करोड ४९ लाख ६१ हजार ५ सय ३० रुपैयाँ नगद लाभांश वितरण गरेको छ। कम्पनीले आगामी वर्षहरूमा आफ्नो सञ्जाललाई देशभरि विस्तार गर्दै, नयाँ प्रदेशमा पनि आफ्ना भवन निर्माणको योजना अघि बढाउने छ।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको भविष्यको योजनाबारे जानकारी दिँदै भने, ‘हामी सातवटै प्रदेशमा आफ्ना शाखा र सेवा काउन्टर विस्तार गर्दै, ५०१ जना कर्मचारी र ४५.७९ प्रतिशत महिला कर्मचारीको सहभागिता सहित उत्कृष्ट सेवा प्रदान गर्दैछौं।”कम्पनीले गत आर्थिक वर्ष २०७९\०८० मा ३ अर्ब ३९ करोड ४५ लाख बीमा प्रिमियम संकलन गरेको र आगामी वर्षमा यसलाई अझ वृद्धि गर्ने योजना बनाएको छ। 

साथै, नेपाल सरकारलाई ८० करोड ५० लाख रुपैयाँ कर तिर्ने गरी राष्ट्र निर्माणमा ठूलो योगदान पुर्‍याएको पनि जानकारी गराइएको छ।अन्तमा, अध्यक्ष ढकालले कम्पनीका शेयरधनी, ग्राहक, र नियामक निकायहरूलाई धन्यवाद व्यक्त गर्दै, “आफ्नो अमूल्य सुझाव र विश्वासको लागि सबैलाई आभार व्यक्त गर्दछु,” भने।

आइतबार, २५ फागुन २०८१, १५ : २८

प्रतिक्रिया