काठमाडौं - पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ ।
बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकूहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् । अफगानिस्तान र इरानसँग सीमा जोडिएको सो प्रान्तमा लडाकूहरूले सेनालाई सूचना दिएको आरोप लगाएका आप्रवासी हेयरड्रेसरहरूलाई बारम्बार निशाना बनाइएको छ।
पन्जगुर जिल्लाका एक प्रहरी अधिकारी मोहम्मद जैदले एएफपीसँग भने , “सिन्धका तीन हजामले ज्यान गुमाएका छन् ।” प्रहरीका अनुसार आइतबार साँझ मोटरसाइकलमा आएका बन्दुकधारीले सैलुन पसलमा पसेर गोली चलाएका थिए ।
यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो, जसले बाहिरी व्यक्तिहरूलाई यसको समृद्ध स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आक्रमणहरू गर्ने गरेको छ ।
गत फेब्रुअरीमा लडाकूहरूले एक बस रोकेर सात जना पञ्जाबी मजदुरहरूलाई मृत्युदण्ड दिएका थिए। गत वर्षको अप्रिलमा नौश्की सहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको पनि मृत्यु भएको थियो भने सोही वर्षको मे महिनामा छ जना पञ्जाबी हजामलाई गोली हानी हत्या गरिएको थियो ।
बलुचिस्तानको बोलन जिल्लाका प्रहरी अधिकारी सैयद दिलावरका अनुसार आइतबार भएको अर्को घटनामा पाकिस्तानी सेनाका दुई सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । लडाकूहरू पहाडमा लुकेर बसेको सूचना पाएपछि सैनिकहरूले सुरक्षा कारबाही चलाएको र घण्टौँसम्म भएको गोली हानाहानमा दुई सैनिकको मृत्यु भएको थियो ।
स्थानीय प्रहरी अधिकारी फजल वकारका अनुसार उत्तर पश्चिम खैबर पख्तुनख्वाको कोहाट जिल्लामा सोमबार बिहान आतंककारीले दुई प्रहरी अधिकारीको पनि गोली हानी हत्या गरेका छन् । विगत केही वर्षयता पाकिस्तानी सहरहरूमा आक्रमणहरू विरलै हुने गरेका भए पनि अफगानिस्तानसँगको सीमा क्षेत्रमा हिंसात्मक घटनाहरू बढेका छन् ।
प्रतिक्रिया