काठमाडौं - ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सो मध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उक्त आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिंग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया