लाभांश प्रस्ताव पारित गर्न सानिमा जीआइसी इन्स्योरेन्सले बोलायो साधारण सभा

मंगलबार, २७ फागुन २०८१, १० : २१

काठमाडौं - सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीले आगामी चैत २१ गते आफ्नो वार्षिक साधारण सभा  बोलाएको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको सभा आयोजनाको निर्णय गरेको हो।

सभाको कार्यक्रम अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। यस सभामा कम्पनीले सेयर धनीहरूलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। 

साथै, कम्पनीले छैंठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गर्दै १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने योजना बनाएको छ। यसका अतिरिक्त, सभामा प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, र आर्थिक वर्ष २०८०–८१ का नाफा–नोक्सान तथा नगद प्रवाहको प्रतिवेदनबारे छलफल गर्ने अन्य एजेन्डा पनि रहेको छ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।कम्पनीले सभाको आयोजनाका लागि चैत ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ, जसका अनुसार चैत ७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछ।

मंगलबार, २७ फागुन २०८१, १० : २१

प्रतिक्रिया