काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।
यसमा हिजो साँझ ५ः०७ बजेसम्ममा २० लाख ४८ हजार ५३८ जना सर्वसाधारण आवेदकहरुले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो आवेदन मागभन्दा १३.२७ गुणा बढी हो ।
क्रेष्ट माइक्रोले सर्वसाधारणका लागि फागुन २२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।
त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ ।
जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०८१ भदौ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ५ गतेसम्म बाहल रहनेछ ।
प्रतिक्रिया