काठमाडौं - स्विजरल्याण्डको वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार, नेपाल विश्वभरि दोस्रो सबैभन्दा बढी प्रदूषित देशको सूचीमा परेको छ। पहिलो स्थानमा भारत रहेको छ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ, जुन लामो समयदेखि पानी नपरेको र हावा नचलेको कारण अत्यधिक बढेको बताइएको छ। यस वायु प्रदूषणका कारण स्वास्थ्यमा ठूलो असर पर्ने संकेत गरिएको छ।
आज बिहान, दाङको देउखुरी क्षेत्रको वायु गुणस्तर सबैभन्दा खराब देखिएको छ, जहाँ एक्यूआई १९२ मापन गरिएको छ। त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क, साथै ललितपुरको खुमलटार र भैंसेपाटी क्षेत्रमा पनि वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ।
यसैगरी, चितवनको भरतपुर र धनकुटाको वायु गुणस्तर पनि अति खराब देखिएको छ। काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, एक्यूआई ३५ भन्दा कम हुनु अनुकूल मानिन्छ, र ५० एक्यूआईसम्मको स्तरलाई सामान्य मानिन्छ। यद्यपि, त्यसको माथिको स्तर स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ। उच्च एक्यूआईले दीर्घकालीन स्वास्थ्य समस्याहरू जस्तै फोक्सोको क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, र हृदयघातको जोखिम बढाउँछ।
प्रतिक्रिया