काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि मंगलबार, ५ चैतमा बाँडफाँड हुने भएको छ। कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै सूचना दिएको छ कि आइपीओको बाँडफाँड प्रक्रिया बिहान साढे ८ बजे एनआइएमबि एस क्यापिटलको कार्यालयमा हुनेछ।
कम्पनीको आइपीओमा भर्खरको तथ्यांक अनुसार २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। यो आवेदन प्रक्रिया फागुन २२ गतेदेखि सुरु भएको थियो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ जारी गरेको थियो, जसको बाँडफाँड प्रक्रिया सम्पन्न भइसकेको छ। दोस्रो चरणमा भने सर्वसाधारण लगानीकर्ताहरूका लागि १८ लाख ४५ हजार कित्ता साधारण शेयर जारी गरिएको हो।
मागभन्दा बढी आवेदन परेको कारण आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। यस प्रक्रियामा १ लाख ८४ हजार ५०० भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्न अनुमति पाएको थियो।
यस मध्येको १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि जारी गरिएको थियो। त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिएको छ।
प्रतिक्रिया