नेप्से सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा

बुधबार, ०६ चैत्र २०८१, १४ : ०८

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन्। नेप्सेमा सीईओ नियुक्ति प्रक्रियाअनुसार गठित सिफारिस समितिले पाँच जनाको नाम छनोट गरी अन्तर्वार्ताका लागि अघि बढाएको हो।

सिफारिस समितिले सार्वजनिक गरेको सूचीअनुसार चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल अन्तर्वार्ताका लागि सिफारिस भएका छन्। नेप्से सीईओ पदका लागि १० जनाले आवेदन दिएका थिए, जसबाट उत्कृष्ट पाँच जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको हो।

सर्टलिस्ट भएका पाँचै उम्मेदवारले आज नेप्सेको नेतृत्वका लागि आफ्नो व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन्। प्रस्तुतिबाट उम्मेदवारहरूले नेप्सेको भविष्यको रणनीति, सुधार योजनाहरू, सेयर बजारको प्रवर्द्धन, प्रविधि विकास, पारदर्शिता तथा लगानीकर्ताको विश्वास बढाउने उपायहरूबारे आफ्नो दृष्टिकोण व्यक्त गरेका छन्।

सीईओ छनोट प्रक्रियाअनुसार सर्टलिस्ट भएका उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्तापछि योग्य र सक्षम उम्मेदवारलाई बोर्डको सिफारिसमा नियुक्त गरिनेछ।

नेपालको पूँजी बजारको स्थायित्व, प्रविधिगत सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा समग्र सेयर बजारको दीर्घकालीन विकासमा नयाँ सीईओको महत्वपूर्ण भूमिका रहनेछ। 

बुधबार, ०६ चैत्र २०८१, १४ : ०८

प्रतिक्रिया