सानिमा रिलायन्स लाइफको आठौँ वार्षिक साधारण सभा आज हुँदै

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ५८

काठमाडौं - सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आज आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित ९.२४८९ प्रतिशत लाभांश अनुमोदन गरिने छ। यसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।

यस वर्षको साधारण सभामा कम्पनीको अधिकृत पुँजी ५ अर्ब २ करोड कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ। बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पुग्ने हुँदा प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।

साथै, कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँको नयाँबानेश्वरबाट परिवर्तन गरी नक्साल स्थानमा राख्ने प्रस्ताव पनि सभामा पेस गरिने छ। यसका साथै, आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिनेछ।

कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि फागुन २६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यस अनुसार, फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ५८

प्रतिक्रिया