सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

आइतबार, १० चैत्र २०८१, १३ : २०

काठमाडौं- सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ ।

सरकारको पत्रकारहरूको दुर्घटना बीमा गराउने कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । 

आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन् । 

यो बिमा एक वर्षका लागि लागु हुनेछ । विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि  दोस्रो पटक पुनः माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।  

पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षेनी सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा  गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको छ । 

आइतबार, १० चैत्र २०८१, १३ : २०

प्रतिक्रिया