आज यी ३ कम्पनीको साधारण सभा बस्दै

सोमबार, ११ चैत्र २०८१, १० : ३५

काठमाडौं - आज युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा बस्दैछ ।

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्दैछ । साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्ध पत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

गार्डियन माइक्रो लाइफको वार्षिक साधारण सभा होटेल एयरपोर्ट, विराटनगर मा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त इन्सुरेन्ससँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि उक्त सभामा पेस हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ । 

सोमबार, ११ चैत्र २०८१, १० : ३५

प्रतिक्रिया