काठमाडौं- स्थापनाको छोटो समयमै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा उल्लेखनीय सफलता हात पार्दै आएको छ। संघीय संसद्बाट वि.सं. २०७९ साउन १८ गते पारित ऐनमार्फत स्थापना भएको यो विश्वविद्यालयलाई अनुसन्धानमुखी र विश्वस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्य रहेको छ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा प्रदान गरिने प्रतिस्पर्धात्मक अनुसन्धानवृत्तिमा विश्वविद्यालयका ६ जना अनुसन्धानकर्ताले २८ लाखभन्दा बढीको अनुदान प्राप्त गरेका छन्।
सस्टेनेवल तथा रेजिलिएन्ट पूर्वाधार प्रोग्रामका प्रमुख अनुसन्धान कर्ता डा.किर्ति कुसुम जोशीले दिगो र लचक भवन निर्माणमा परम्परागत गिटीगढी बिषयमा, अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा. भुषण श्रेष्ठले नेपालको औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादन बिषयमा, फरेस्ट बायोमटेरियल प्रोग्रामका डा.सबिना श्रेष्ठले चित्लाङको बिरुवाबाट प्राकृतिक खाद्य रङ्गको प्रयोग बिषयमा, अर्ग्यानिक एग्रीकल्चर प्रोग्रामका डा.सर्वेशदास डंगोलले नेपालको स्थानीयको दोरचामलको संरक्षणका लागि रोग पत्ता लगाउने बिषयमा, डिजिटल प्रविधि प्रोग्रामका डा. रिजन महर्जनले प्रविधिको प्रयोगमार्फत प्लास्टिक फोहोर व्यस्थापन बिषयमा, तथा फरेस्ट बायोमटेरियल प्रोग्रामका डा. झसनाथ अधिकारी सुबिनले मलिक्युलर डकिंगगणना निर्माण रेडीलिगांड डाटाबेस बिषयमा अनुसन्धान गर्नेछन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत डा। सर्वेशदास डंगोल ले १२ लाखको अनुसन्धानवृत्ति प्राप्त गरेका छन्। उनको अनुसन्धान पोलिमर एसेसको इन(भिट्रो उत्पादन तथा ग्रहण सम्बन्धी हुनेछ।
यस्तै, फिलिपिन्सको बहाए फाउन्डेसन बाट डा। किशोर तिमल्सिना ले २५ लाखको अन्तर्राष्ट्रिय अनुसन्धानवृत्ति प्राप्त गरेका छन्। उनले टिकाउ सामग्रीहरू प्रयोग गरी सुलभ, विपद् प्रतिरोधी, तथा वातावरणमैत्री घर निर्माण सम्बन्धी अनुसन्धान गर्नेछन्।
हाल विश्वविद्यालयले डिजिटल प्रविधि, अर्ग्यानिक कृषि, फरेस्ट बायोमटेरियल विषयका पाँच वटा अनुसन्धान प्रयोगशाला सञ्चालन गरिरहेको छ। साथै, साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशाला स्थापना गर्ने योजना रहेको छ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नवीनतम अनुसन्धान तथा प्रविधिमा जोड दिँदै नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ। विश्वविद्यालयले नयाँ ज्ञान उत्पादन र वैज्ञानिक उन्नतिको माध्यमबाट राष्ट्रिय तथा क्षेत्रीय विकासलाई गति दिने उद्देश्य लिएको छ।
प्रतिक्रिया