साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीलाई १०% लाभांश दिने

शनिबार, १६ चैत्र २०८१, ११ : ५७

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशनले शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । कर्पोरेशनले आर्थिक वर्ष २०८०र८१ म आर्जित १ अर्ब ४ करोड ९७ लाख रुपैयाँ नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने भएको हो ।

कर्पोरेशनको शुक्रबार सम्पन्न ५८औं वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीतिउपर छलफल गरी पारित गरेको छ ।

कर्पोरेशनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले २०८०र८१ कारोबार समष्टिगतमा मूल्याङ्कन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको बतार्ए । नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको गरी १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँबराबरको कारोबार गरेको उनले बताए ।

कर्पोरेशनले सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले गरेको जनधनको क्ष्तिमा सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेशन र कर्मचारीहरूका तर्फबाट ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी खास वस्तुहरूमा लागत मूल्यभन्दा कम मूल्यमा सामान बिक्री गरी सामाजिक उत्तरदायित्वसमेत वहन गरेको श्रेष्ठले जानकारी गराए ।

कर्पोरेशनले सरकारबाट प्राप्त अनुदानमा आवश्यक मात्रमा रासायनिक मल बिक्री गर्नुका साथै रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न गैर–अनुदानित रासायनिक मल एमुनियक सल्फेट र सिङ्गल सुपर फस्फेट मल कृषकहरूलाई उपलब्ध गराउँदै आएको छ ।

शनिबार, १६ चैत्र २०८१, ११ : ५७

प्रतिक्रिया