तीनकुने प्रदर्शनमा सहभागी राप्रपा केन्द्रीय सदस्यको माग : काठमाडौंको सिडिओ र प्रहरी प्रमुखलाई निलम्बन गरियोस्

बुधबार, २० चैत्र २०८१, ०९ : ०७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले चैत्र १५ गते भएको घटनालाई लिएर गम्भीर ध्यानाकर्षण गराएका छन्। किरण उक्त प्रदर्शनमा सहभागी समेत थिए। 

मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली राजनीतिक इतिहासकै प्रदर्शनमा चैत्र १५ गते तिनकुनेमा सबैभन्दा धेरै बल प्रयोग भएको दाबी गरेका छन् । 

शान्तिपूर्वक भेला हुन पाउने र आफ्नो कुरा राख्न पाउने राजनीतिक अधिकारलाई राज्यका तर्फबाट निर्ममतापूर्वक बल प्रयोग गरी हनन गर्ने काम भएको किरणले आरोप लगाएका छन् ।

दुई तिहाई प्राप्त सरकारको चाकडी गर्न, प्रधानमन्त्री र गृहमन्त्रीलाई खुसी बनाउन जिल्ला प्रशासन कार्यालय र प्रहरीका उच्च अधिकृतहरूले निर्ममतापूर्वक जनतालाई गोली हानेको किरणले लेखेका छन् । 

उनले लेखेका छन् अमानवीय बर्बरतापूर्ण राज्यको तर्फबाट भएको दमन नेपाली इतिहासको सबैभन्दा कहाली लाग्दो घटनाको रूपमा दर्ज भएको छ । 

आज शक्तिको दुरुपयोग गरेर निहत्ता नागरिकलाई गोली प्रहार गर्नेहरूले नै घटनाको छानबिन गरिरहेका छन्, विधिको शासनमा यो कुनै हालतमा पनि स्वीकार्य नहुने किरणले बताएका छन्। 

तत्काल काठमाडौँ जिल्ला प्रशासन प्रमुख , उपत्यका प्रहरी प्रमुख साथै फिल्डमा संलग्न प्रहरीका उच्च अधिकृतहरूलाई तत्काल निलम्बन गरी जिम्मेवारी मुक्त गर्दै नयाँ नेतृत्व ल्याउन आग्रह समेत किरणले गरेका छन् । 

‘वर्तमान नेतृत्वको अगुवाइमा हुने छानबिन निष्पक्ष हुनै सक्दैन , सम्पूर्ण प्रमाणहरू नष्ट हुने गम्भीर खतरा छ । यो घटनालाई संवेदनशील रूपमा नलिए अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार आयोग र संयुक्त राष्ट्र संघलाई समेत छानबिनको माग गर्दै अगाडि बढ्नेछौं ।’, किरणले वक्तव्यमा भनेका छन् ।

चैत्र १५ गते तिनकुनेमा भएको प्रदर्शनमा राज्यको तर्फबाट दमन भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

बुधबार, २० चैत्र २०८१, ०९ : ०७

प्रतिक्रिया