संघीयताप्रतिको बुझाई नै बेठीक भयो : जनार्दन शर्मा

बुधबार, ३१ बैशाख २०८२, १२ : ५५

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी देखिएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘संघीयताको कसीमा आर्थिक वर्ष २०८२र०८३ को बजेट’ कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटीका कारण प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको प्रस्ट हुने बताए ।

केन्द्रीकृत मानसिकता नत्यागेकोले संघीयताको विरोधी संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू सत्तामा पुग्दा संघीयता कार्यान्वयन नहुने गरेको बताउँदै उनले कानुन नबन्दा प्रदेश सरकारले अधिकार नपाएको उल्लेख गरे ।

बनेका कानुनको अधिकार प्रदेशलाई हस्तान्तरण नहुने, बनेको कानुन कार्यान्वयन नहुने, बजेट फिर्ता ल्याइने जस्ता कामहरू संघ सरकारबाट भएको बताउँदै उनले संघीयता प्रतिको बुझाइ नै बेठीक भएको जिकिर गरे । 

उनले संघीयता कार्यान्वयनको लागि संघीयताका पक्षधरहरूले दबाब दिनुपर्नेमा जोड दिए । 

बुधबार, ३१ बैशाख २०८२, १२ : ५५

प्रतिक्रिया