हाईड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षण, उर्जा क्षेत्रमा लगानी बढाउँदा बजार राम्रो हुने

बुधबार, २० चैत्र २०८१, १५ : ४०

काठमाडौं– उर्जा क्षेत्रको विकासका लागि विदेशी तथा स्वदेशी लगानी बढाउनुपर्ने विषय समयसमयमा उठिरहने गरेको छ । देश जलश्रोतको दोश्रो धनी भएकाले पनि देशको आर्थिक विकाससँग जलविद्यूत क्षेत्रको विकास पनि जोडिएको हुन्छ । हाईड्रोपावर क्षेत्रका कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत हुने र कारोबारमा राम्रो उपलब्धि ल्याउन सक्दापनि उर्जा क्षेत्र केही हदसम्म अगाडि आउन सक्छ ।

हाल नेप्सेमा २ सय ६२ वटा कम्पनीहरु सुचीकृत छन् । तीमध्ये सबैभन्दा बढी हाईड्रोपावर समूहबाट ९१ वटा कम्पनी सुचीकृत छन् । सुचीकृत कम्पनीहरुको संख्याको हिसाबले हाईड्रोपावर कम्पनीहरु करिब ३५ प्रतिशतको हाराहारीमा हुन्छ । यस्तै, धितोपत्र बोर्डमा आईपीओ निष्काशनका लागि पाईपलाईनमा रहेका कम्पनीहरुमध्ये ११ वटा हाईड्रोपावर कम्पनी रहेका छन् ।

कुनै समय हाईड्रोपावर कम्पनीको आईपीओमा आवश्यक आवेदन नआउने अवस्था सिर्जना भएको थियो । यसो तहाईड्रोपावर समूहमा न्यून चुक्ता पुँजीदेखि लिएर उच्च चुक्ता पुँजी भएका कम्पनीहरु सुचीकृत छन् । पूँजीगत कारणले कतिपय हाईड्रोपावर कम्पनीहरुको सेयर मुल्य दोस्रो बजारमा पनि १०० भन्दा कम हुँदा लगानीकर्ताहरुलाई लगानी गर्न डर पैदा भएको थियो । तर न्यूनदेखि उच्चसम्म चुक्ता पूँजी भएका कम्पनी हुँदा भने लगानीकर्तालाई हाइड्रोपावरमा नै लगानी नगर्नेभन्दा पनि उचित कम्पनी छनोटको समेत विकल्प सिर्जना भएको छ ।

‘सेयर बजारका लगानीकर्ताहरु दीर्घकालीन भन्दापनि अल्पकालीन हुने र कुनै एउटा कम्पनीको कारण त्यो समूहमा नै लगानी गर्न डराउँछन् । यस्तै कारणले कुनै समय हाइड्रोपावरका लगानीकर्ताहरु फरक समूहमा डाइभर्ट हुने भएपनि हाईड्रोपावरमा लगानी नै नगर्ने भन्ने अवस्था भने छैन ।’,लगानीकर्ता कृष्ण बुढाथोकी बताउँछन् । 

बैंकिङ क्षेत्रको बढ्दो तरलता लामोसमयदेखि कायम रहँदा लगानीकर्ताहरु हाईड्रोपावरतिर बढेका छन् । बैंकहरुले बचतको निक्षेप रकम घटाउँदा बैंक तथा वित्तिय क्षेत्रमा लगानी गर्नेहरु पनि घट्ने हुँदा केही मात्रामा हाईड्रोपावर समूहमा लगानीकर्ता बढेको हुनसक्ने विश्लेषकहरुले अनुमान गर्ने गरेका छन् ।

हाईड्रोपावर कम्पनीहरुको आयोजना निर्माण भएको ३० वर्षपछि कम्पनीको स्वामित्व सरकारलाई सुम्पन पर्ने कुरा बजारमा सुनिएको थियो । यसकारण लगानीकर्ताहरुले हाईड्रोपावर कम्पनीहरुमा दीर्घकालीन लगानी गरेका थिएनन्  । तर इप्पानले त्यस्तो नभएको बताएपछि भने हाईड्रोपावर कम्पनीमा दोस्रो बजारमा पनि लगानी बढ्न थालेको हो ।

लगानीकर्ता मात्र बढेको नभई पछिल्लो समयमा दोस्रो बजारमा हाईड्रोपावर कम्पनीहरुको बजार मूल्य पनि बढिरहेको छ । मंगलबार मात्र पाँच वटा हाईड्रोपावर कम्पनीहरु सर्वाधिक कमाउने (टप गेनर) को सूचीमा रहेका थिए ।

राधी जलविद्युत् कम्पनी लिमिटेडको ४.२३ प्रतिशत बजार मूल्य बढेको थियो । दोस्रो बजारमा कम्पनीको कूल पूँजी ७ अर्ब ७७ करोड १५ लाख बराबर रहेको छ । त्यस्तै, मंगलबार सवार्धिक कमाउने अर्को हाईड्रोपावर कम्पनीमा सयपत्री हाईड्रोपावर लिमिटेड रहेको थियो । कम्पनीको शेयर मूल्यमा हिजो ४.२१ प्रतिशतले वृद्धि भएको हो । दोस्रो बजारमा कम्पनीको कूल पूँजी २ अर्ब ३२ करोड ५० लाख बराबर रहेको छ ।

मंगलबार सवार्धिक कमाउने अर्को हाईड्रोपावर कम्पनीमा हिमालयन पावर पाटर्नर लिमिटेड रहेको थियो । कम्पनीको सेयर मूल्यमा ३.४७ प्रतिशतले वृद्धि भएको हो । दोस्रो बजारमा कम्पनीको कूल पूँजी ६ अर्ब ७६ करोड ५३ लाख बराबर रहेको छ । त्यस्तै, अर्को कम्पनी माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड रहेको थियो । कम्पनीको सेयरमा हिजो ३.११ प्रतिशतले वृद्धि भएको हो । यो कम्पनीको दोस्रो बजारमा कुल पूँजी ७ अर्ब ५ करोड २० लाख बराबर रहेको छ ।

सीएचडिसी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि मंगलबार सर्वाधिक कमाउने सूचीमा पर्दा सेयर मूल्य २.२६ प्रतिशत माथि गएको थियो। कम्पनीको बजारमा  कुल पूँजी २५ अर्ब १९ करोड ४० लाख रहेको छ ।

Capture

आज बुधबार पनि दुई हाईड्रोपावर कम्पनीहरु सर्वाधिक कमाउने सूचीमा अटाएका छन् । बुधबार न्यादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा ६.६ प्रतिशत र रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा ४.९७ प्रतिशत वृद्धि भएको हो । न्यादीको कुल पूँजी ९ अर्ब ६९ करोड रहेको छ । त्यस्तै, रिभर फल्सको ५ अर्ब ११ करोड रहेको छ । बुधबार हाईड्रोपावर इन्डेक्स ०.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार हाईड्रोपावर कम्पनीहरुको  ३ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९१ करोड २५ लाख ६२ हजार रुपैयाँ बराबरको करोबार भएको छ । 

Capture.JPG1_

पछिल्लो समय सेयर बजारको दोस्रो बजारमा हाईड्रोपावर कम्पनीहरुको कारोबार राम्रो लयमा गएको छ । उर्जा क्षेत्रको विकासका लागि लगानीको वातावरण सुरक्षित बनाउने हो भने नेप्सेमा सूचीकृत हाईड्रोपावर कम्पनीहरुको कुल पूँजीमा वृद्धि हुन्छ । यसबाट सेयर बजारमा हाईड्रोपावर कम्पनीहरुमा दीर्घकालीन लगानीकर्ताहरु अझै बढ्न सक्छन् ।

बुधबार, २० चैत्र २०८१, १५ : ४०

प्रतिक्रिया