काठमाडौं - सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिवार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् ।
आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ । राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका थिए । अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।
आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन् । स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय समयअनुसार अपराह्न ४:०० बजे (स्थानीय समयअनुसार १६:०० बजे) सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ ।सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठुलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ ।
स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भने, “शनिवार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो ।”प्रहरीले भवन वरपरका सडकलाई घेराहालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो ।
प्रतिक्रिया