शिक्षकको पीडा र महत्व समेटिएको मर्मस्पर्शी गीत : ‘हामी शिक्षक’(भिडियो)

आइतबार, ३१ चैत्र २०८१, १७ : ४५

काठमाडौं- शिक्षकहरुको जारी आन्दोलनका क्रममा सर्वाधिक रुचाइएको ‘हामी शिक्षक’ बोलको गीतका सर्जक बासु अधिकारी आफैंमा एक शिक्षक हुन् । शिक्षाको ज्योति छर्ने शिक्षकहरुका पीडा आफैंले अनुभूत गरेका अधिकारीले उक्त पीडालाई गीतमार्फत सांगीतिक रुपमा निकै मार्मीक ढंगले प्रष्फुटन गरेका छन् । 

अहिले उनको गीतले चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षकहरुको विशाल आन्दोलनमा गुञ्जिएर आन्दोलन नै संगीतमय बनाएको छ । १२ दिनदेखि जारी आन्दोलनमा उक्त गीतले शिक्षकहरुलाई आफ्ना मागसहित आन्दोलनमा होमिन उद्धेलित गराउँदै सहभागी हुन प्रेरित गरिरहेको छ । साथै शिक्षकहरुको आन्दोलनका माग गीतको शब्दमार्फत  अभिव्यक्त गरिएको छ । 

यस गीतमा शिक्षकको महत्व, योगदान र राज्यको उपेक्षालाई निकै मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । मावि तृतीय श्रेणीका स्थायी शिक्षक रहेका अधिकारीकोे आफ्नै शब्द संगीत रहेको ‘हामी शिक्षक’ गीतमा स्वर पनि अधिकारीसँगै गायिका सुनिता बुढा क्षेत्रीको रहेको छ ।

साथै, सन्तोष पोखरेल निर्देशित गीतको म्युजिक भिडियोमा अधिकारीसँगै सृजना जिसी, अनिता चौधरी, अञ्जु पोख्रेल र पुष्पा पाण्डेको अभिनय रहेको छ । बाल कलाकारको भूमिकामा बरुण अधिकारीले अभिनय गरेका छन् । म्युजिक भिडियोमा गीतको भाव अनुरुप कलाकारहरुले अभिनयमार्फत सहज ढंगले चित्रण गर्ने प्रयत्न गरेका छन् ।

उक्त म्युजिक भिडियोकोे छायांकन रमीत बोहराले गरेका हुन् भने यसको परिकल्पनाकार गीतका सर्जक अधिकारी आफैं हुन् ।  उक्त गीत बासु सर नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

  


 

आइतबार, ३१ चैत्र २०८१, १७ : ४५

प्रतिक्रिया