काठमाडौं- तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ । नयाँ वर्षको अवसर पारेर निर्माण टिमले चलचित्र आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन गर्ने घोषणा गरेको हो।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । गोरखामा ३६ दिन छायांकन भएको चलचित्रको यही वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायांकन गरिनेछ ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायांकन गरेका छन् । भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायाकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा काम गरेका थिए । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रूपमा दर्शकसामु ल्याउँदैछन् । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङग र सुरेश लामा थिङ सह निर्माता रहेको चलचित्र नेपालमा वैङकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।
प्रतिक्रिया