काठमाडौं- पर्यटन प्रवर्द्धनलाई बढवा दिने उद्देश्यले भारतबाट घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्त मिलाएको छ ।
पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको व्यवस्था मिलाएको हो । घुम्न आउने पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झट रहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ ।
स्थानीय तह सँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक चेकजाँच नहुने जनाएको छ । डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँच सहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिनेछ ।
कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउँदैछ । प्रदेश भित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । सोही अनुरुप पर्यटकको यात्रा सहज र झन्झट रहित बनाउने उद्देश्यसाथ भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ ।
प्रतिक्रिया