काठमाडौं- चैत १५ गते राजावादीको आन्दोलन हिंसात्मक भएपछि प्रहरी नियन्त्रणमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा छन् ।
मंगलबार मिश्रलाई भेट्न हिरासत कक्षमा वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी लगायत अन्य पार्टीका नेता कार्यकर्ता पुगेका थिए । उनी उस्तै हाउभाउ र शैलीमा प्रस्तुत भएको भेटमा सहभागीहरुले आजको अर्थलाई बताए ।
मिश्रले आफूलाई भेट्न आएकाहरुसँग आन्दोलन हिंसात्मक बनाउन आफ्नो कुनै भूमिका नरहेको बताउने गरेका छन् । मंगलबार पनि उही भावभंगीमा प्रस्तुत हुँदै उनले तीनकुने प्रदर्शनका क्रममा बोल्ने बाहेक आफूले भीडलाई हिंसात्मक बनाउन कुनै भूमिका नखेलेको प्रष्ट्याएका थिए ।
‘मैले बोल्ने बाहेक त्यहाँ अरु केही पनि गरेको छैन । आज २६ दिन भयो, प्रहरीले ६० दिनसम्म हिरासतमा राख्न पाउने रहेछ’, मिश्रको भनाइ उद्धधृत गर्दै भेटमा सहभागी भएका एक जनाले भने, ‘खान बस्न ठिकै छ प्रहरीले राम्रै व्यवहार गरेको छ । दैनिकजसो साथीहरु भेट्न आइरहनुहुन्छ ।’
हिरासतमा रहँदा अध्ययन र भेटघाटमै समय बिताउने गरेको मिश्रले बताए । उनले तीनकुनेको हिंसा नियोजित रहेको बताउँदै राजसंस्था पुनस्र्थापनाको आन्दोलन कमजोर बनाउन राज्यले अनावश्यक बल प्रयोग गरेको जिकिर गरे ।
चैत १५ गते तीनकुनेमा राजावादी आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने कैयौं भौतिक संरचनामा आगजनी भएको थियो । उक्त आन्दोलनमा सहभागी भएका राप्रपा उपाध्यक्ष मिश्रसहित महामन्त्री धवल शमशेर राणालाई सोही दिन बेलुका प्रहरीले पक्राउ गरेको हो ।
महामन्त्री राणालाई भने स्वास्थ्यको कारणले हाजिरी जमानीमा प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ । मिश्रसहित राजावादी आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाई भने प्रहरी हिरासतमै रहेका छन् ।
प्रतिक्रिया