आँबुखैरेनी बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा

बुधबार, १० बैशाख २०८२, १५ : ०१

तनहुँ- जिल्लाको आँबुखैरेनी बजारलाई ‘नो हर्न’ क्षेत्र घोषणा गरिएको छ । आँबुखैरेनी सेवा समाजको सक्रियतामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बजार क्षेत्रलाई ‘नो हर्न’ घोषणा गरेको हो । 
    
समाजले सोमबार प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र बनाउन माग गरेको थियो । बजार क्षेत्रमा हर्नले ध्वनि प्रदूषण बढाएकाले निषेध क्षेत्र बनाउन माग गरिएको समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले बताए । 

बजार क्षेत्रमा ठूला तथा साना सवारीसाधनको घुइँचो तथा सवारीसाधनले यात्रु चढाउन गर्ने हतारका कारण अनावश्यक ध्वनी प्रदूषण गराउँदा समस्या भएकाले हर्न निषेधित क्षेत्र बनाउन आवश्यक पहल गरिएको उनको भनाइ छ । 

प्रहरीले बजारका विभिन्न ठाउँमा आज ‘नो हर्न’ सम्बन्धी सूचना राखेको छ । प्रहरी निरीक्षक सुवेदीले बजार क्षेत्रलाई ध्वनी प्रदूषणमुक्त बनाउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यसहित ‘नो हर्न’ घोषणा गर्दै सूचना बोर्डहरू राखिएको जानकारी दिए ।  

बुधबार, १० बैशाख २०८२, १५ : ०१

प्रतिक्रिया