‘प्रधानन्यायाधीशले पूर्वाराजा भेटेको’ समाचार लेख्ने प्रकाशकलाई बयानमा बोलाउने सर्वोच्चको आदेश

बुधबार, १० बैशाख २०८२, १६ : २०

काठमाडौं- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबीसहितको अपुष्ट समाचार लेख्ने नेपाली पेन अनलाइन’ का सम्पादक÷प्रकाशकलाई बयान गराउने आदेश भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले बुधबार समाचारका सम्बन्धमा बयानमा बोलाउने आदेश गरेको हो ।

उक्त अनलाइनको सम्पादक दीपेश केसी रहेका छन् । सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा उक्त अनलाइनमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रसँग भेटघाट गरेको दाबी गरिएको थियो ।

समाचारमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि पूर्वराजालाई भेटेको र उनकै डिजाइनमा राउतले भेटघाट गरेको आक्षेप लगाइएको थियो ।राउत खिलराज रेग्मीको शैलीमा सरकारको नेतृत्व गर्ने डिजाइनमा रहेको आरोप समाचारमा लगाइएको थियो । 

उक्त समाचार प्रकाशित भएपछि सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मंगलबार अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले प्रशासनले मंगलबार नै अनलाइनलाई सम्पर्क गर्दै प्रमाण पठाउन अनुरोध गरेको थियो । वेबसाइटबाट समाचार हटाएको उक्त मिडियाले कुनै प्रमाण अदालतसमक्ष पेस गर्न सकेको छैन ।

बुधबार, १० बैशाख २०८२, १६ : २०

प्रतिक्रिया