भारत–पाकिस्तान युद्ध

पाकिस्तानले आक्रमण गर्ने खतरा बढेसँगै भारतमा उच्च सुरक्षा सतर्कता

विहीबार, २५ बैशाख २०८२, १० : ३१

काठमाडौं- भारत–पकिस्तान युद्ध चर्किने देखिएको छ । बुधबार एकाबिहानै भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेसँगै पाकिस्तानले जवाफी कारबाही सुरु गरेपछि यी दुई देशबीच युद्ध चर्किने संकेत देखिएको हो ।

पाकिस्तानले बुधबार भारतमाथि बदला लिने घोषणा गरेको छ । यससँगै भारतले वायु, समुद्र र स्थल सेना हाई अलर्टमा राखेको छ । भारतीय मिडियाहरुका अनुसार जतिखेर जे पनि हुन सक्ने भन्दै भारतीय सेना हाई अलर्ट भएका छन् ।

पाकिस्तानले बुधबार जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा बमबारी गर्दा १५ जना मारिएको र ५० बढी घाइते भएको छन् । त्यसलगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो ।

सीमा रेखानजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ । पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट सेना हाई अलर्ट रहनुपरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन् । बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भारतीय फाइटर विमान खसालेको कुरा दिल्ली आफैंले पुष्टि गरेको उल्लेख गर्दै भने, ‘यो हाम्रो तर्फबाट जवाफ थियो ।’

भारतले बुधबार राती गरेको क्षेप्यास्त्रसहितको हवाई आक्रमण हालै पहलगाममा भारतीय पर्यटकको क्रूरतापूर्वक गरेको आमहत्याको जवाफ भएको बताइरहँदा इस्लामावादले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

विहीबार, २५ बैशाख २०८२, १० : ३१

प्रतिक्रिया