एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल जग्गा किर्ते कार्यमा संलग्न !

शुक्रबार, १२ बैशाख २०८२, १० : ३८

काठमाडौं– एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको कर्तुत बाहिरिएको छ । अग्रवालको जग्गासम्बन्धी किर्ते कार्यमा संलग्नता भेटिएको छ । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कित्ता नंम्बर ८, ३२८, ३२९ को क्रमशः ०–११–१५, ०–१–१६ र ०–१–१।५ क्षेत्रफलका जग्गामा किर्ते कार्य भएको खुलासा भएको हो ।

 लक्ष्मण भनिने लक्षम माझीले लागत फारम भर्दा दीपबहादुर काजीलाई जग्गाधनी देखाइ २ नंम्बर अनुसूची प्रकाशित गराएका थिए । तर, सर्वे नापीपछि कित्ता नम्बर २२ र २५ को जग्गा रुक्मिणी थापा र रणकुमारी थापाका नाममा दर्ता भयो । यी दुबै महिला दीपबहादुर काजीकै श्रीमती र आमा थिए ।

दीपबहादुर काजीको यो जग्गा विभिन्न व्यक्तिहरूले अधियाँमा जोतभोग गर्दै आएका थिए । लक्षम माझी र उनकी पत्नी निरक्षर थिए, जसले भर्पाइ लिन सकेनन् । २०२५ सालमा उनीहरूको मृत्यु भएपछि उनका छोरा ढालिया थारुको पनि २०४८ साल माघ १६ गते निधन भयो । त्यसपछि नाति जियाराम चौधरीले उक्त सम्पत्तिमा आफ्नो हक दाबी गर्दै नामसारीका लागि निवेदन दिएका थिए ।

२०७५ साल चैत्र २२ गते भूमि सुधार कार्यालय सुनसरीले नापजाँच गर्दा कित्ता नम्बर २२ र २५ मा मोही महल खाली रहेको निष्कर्ष निकाले । जसका आधारमा उक्त जग्गा रणकुमारी र रुक्मिणी थापाको नम्बरी जग्गा भनी तोकियो । जियाराम चौधरीले यसको विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरे । अदालतले पनि जग्गाधनी पक्षकै पक्षमा फैसला ग¥यो । 

तर, स्थलगत अध्ययन र २०२२ सालको मालपोतको ढड्डा तथा कागजातहरूका आधारमा लक्षम चौधरीको मोहियानी हक रहेको प्रमाण भेटिएको छ । तर, तत्कालीन भूमिसुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख सूर्यबहादुर थापा, प्रकाश मुन्द्रा र एनआईसीका अध्यक्ष तुलसीराम अग्रवालको मिलेमतोमा फिल्डबुकमा किर्ते गरिएको खुलासा भएको छ । 

उनीहरूले टिपेक्स प्रयोग गरी मोहीको नाम मेटाउने कार्य गरेको देखिन्छ । यसपछि उच्च अदालतमा किर्ते कागजात पेश गरी फैसलामा समेत प्रभाव पारिएको आरोप छ । हाल उक्त जग्गा अन्य व्यक्तिलाई बिक्री गरी प्रयोग भइरहेको छ ।

जियाराम चौधरीले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । उनले उक्त जग्गा विवादमा संलग्न व्यक्तिहरूको छानबिन र कारबाहीको माग गरेका छन् । उनले प्रस्तुत गरेका प्रमाणहरूले २०२२ साल भदौ २९ गते लक्षम चौधरीलाई मोहियानी हक दिइएको देखाउँछ । जसले किर्ते कार्यको पुष्टि गर्छ ।

यस घटनाले भूमिसम्बन्धी ठगी तथा शक्तिको दुरुपयोगको गम्भीर समस्या खुलासा गरेको छ । अब सम्बन्धित निकायले यसबारेमा निष्पक्ष छानबिन गरी दोषीको कठालो समात्न सक्लान त भन्ने प्रश्न उब्जिएको छ । 

यसबारेमा अग्रवालसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन सकेनन् । 

 

 

शुक्रबार, १२ बैशाख २०८२, १० : ३८

प्रतिक्रिया