तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

बुधबार, १७ बैशाख २०८२, १२ : ३३

काठमाडौं- एक सय ३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय सदस्य आशा कोइरालाले गरेकी हुन् ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासंघमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ ।

अखिल नेपाल ट्रेड महासंघका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना संगठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो । पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ ।

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासंघ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए । रासस

बुधबार, १७ बैशाख २०८२, १२ : ३३

प्रतिक्रिया