चलचित्र ‘माइतीघर’को छायांकन सुरु

विहीबार, १८ बैशाख २०८२, १२ : ५४

काठमाडौं- चलचित्र ‘माइतीघर’को छायांकन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा टिमले शुभसाइत गर्दै छायांकन सुरु गरेको हो ।

स्थानीय गणेश मन्दिरमा चलचित्रको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ बाँकी २० दिन भने दरबाङको तातोपानी क्षेत्रमा छायांकन हुनेछ । 

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथि थिए । उनले पहिलो पटक गाउँमा चलचित्रको छायांकन हुन लागेको भन्दै खुसी व्यक्त गरे । यो चलचित्रबाट गाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।

शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने धारणा राखे ।

शुभसाइत समारोह अघि चलचित्रको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । फिल्मलाई दसैंको फूलपातीबाट रिलिज गर्ने घोषणा भएको छ ।

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।

विहीबार, १८ बैशाख २०८२, १२ : ५४

प्रतिक्रिया