श्रमिक दिवसका अवसरमा चेम्बरद्वारा शुभकामना व्यक्त

विहीबार, १८ बैशाख २०८२, १३ : २८

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले १ सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । 

मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ । श्रमिक वर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । 

नेपालको  संविधान २०७२ ले श्रम सम्बन्धी हकलाई पनि मौलिक हकका रूपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । श्रम सम्बन्धी ऐन नियमहरूमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ । 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवामा श्रमिकको पहुँच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ ।’

सरकार, निजी क्षेत्र र श्रमिक वर्गको संयुक्त पहलबाट मात्रै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।
 

विहीबार, १८ बैशाख २०८२, १३ : २८

प्रतिक्रिया