नयाँ क्रान्तिका लागि तयारी अवस्थामा रहन प्रचण्डको अपिल

विहीबार, १८ बैशाख २०८२, १५ : २१

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । एक सय ३६ औं मजदुर दिवसको अवसरमा बिहीबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । 

अबको आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाँका कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर थियो । 

‘हामीले फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्छ । त्यो क्रान्ति शान्तिपूर्ण हुन्छ । यदि शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न खोजिए दुनियाका कुनै तागतले रोक्न सक्दैन । नेपालमा पनि रोक्न सक्दैन’, उनले भने, ‘अहिले व्यवस्थालाई उल्ट्याउने षड्यन्त्र भइराखेको छ । यस्तो बेला हामी चुप लागेर बस्न सकिँदैन । अहिले ठुलो संघर्षमा स्थापित व्यवस्थालाई उल्लट्याउने जुन चेष्टा भइरहेको छ, त्यसलाई सबै मिलेर परास्त गर्नुपर्छ । फेरि एकचोटी ठुलो आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’

उनले जनताका तागतका साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप नै अहिलेको आवश्यकता भएको प्रचण्डले जोड दिए ।  

कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै उनले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणमा श्रमिकहरुको हकअधिकार संविधानमा राख्न सम्भव भएको बताए । 

यद्यपि संविधानले भनेअनुसार श्रमिक, मजदुरले हकअधिकार नपाएकोमा आत्मसमीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

विहीबार, १८ बैशाख २०८२, १५ : २१

प्रतिक्रिया