काठमाडौं– राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसर पारे कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशले डिजिटल मार्केटिङको वर्तमान प्रवृत्ति र उत्कृष्ट अभ्यासहरूमा केन्द्रित एक वेबिनार आयोजना गरेको छ ।
“Digital Marketing Trends & Best Practices” शीर्षकको यो वेबिनार वैशाख १८ गते बेलुका ८ बजे जुममार्फत सम्पन्न भएको हो । यस कार्यक्रमको मुख्य उद्देश्य व्यवसायी, बजार विज्ञ र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका पेशेवरहरूलाई डिजिटल मार्केटिङका पछिल्ला प्रचलन र प्रभावकारी रणनीतिहरूबारे जानकारी दिएका थिए ।
टेक ब्लगर्स एसोसिएसन अफ नेपाल (TBAN) सँगको सहकार्यमा आयोजना हुने यस वेबिनारमा TBAN का संस्थापक तथा डिजिटल मार्केटिङ विज्ञ आभास अधिकारीले प्रमुख वक्ताको रूपमा प्रस्तुति दिए।
अधिकारीले पे-पर-क्लिक (PPC), सर्च इन्जिन अप्टिमाइजेसन (SEO), सोशल मिडिया मार्केटिङ, कन्टेन्ट मार्केटिङ, ईमेल मार्केटिङ, मोबाइल मार्केटिङ, वेब एनालिटिक्स, कनभर्जन रेट अप्टिमाइजेसन, मार्केटिङ अटोमेसन र डिजिटल रणनीति जस्ता महत्वपूर्ण विषयहरूमा प्रस्तुतीकरण गरे ।
“सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” भन्ने नारालाई आत्मसात गर्दै आयोजना हुने यो कार्यक्रम क्यान महासंघ बागमती प्रदेशका अध्यक्ष किरण श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको छ । अध्यक्ष श्रेष्ठले यो कार्यक्रम डिजिटल सशक्तिकरणको दिशामा एक महत्वपूर्ण कदम भएको बताए।
क्यान महासंघ बागमती प्रदेशका सचिव सुदीप घिमिरेले बागमती प्रदेशका सबै १० वटा जिल्ला शाखाका सदस्यहरूलाई यस कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन र डिजिटल मार्केटिङका नवीनतम विधि तथा प्रविधिहरू बारे ज्ञान हासिल गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया