काठमाडौं - राजनीतिक स्थिरताको साथै सुशासन कायम गर्ने घोषणाका साथ मुलुकका दुई ठूला दलहरु मिलेर बनेको सत्ता गठबन्धनले पनि आम नागरिकमा उत्साह र आशा जगाउन सकेको छैन । प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत माग्ने बेलामा संसद्लाई जानकारी गराइएको त्यो सातबुँदाको पहिलो बुँदामै आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भनिएको छ । यो भनेको जनताको चाहनाबमोजिम राष्ट्रिय हित गर्ने र भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने भन्ने नै हो । साथै गठबन्धनले संविधान संशोधनको ऐजेण्डालाई पनि सत्ता समीकरणको महत्वपूर्ण विषय बनाइएको थियो । तर यो वचनबद्धता पूरा भएको वा गरिएजस्तो देखिँदैन । बरु थालनी नै नभएको भन्ने अवस्थाचाहिँ छ । यो भनेको सुशासनलाई ख्यालठट्टाको विषय बनाइएको अवस्था हो । आफैँले घोषणा गरेका कुरा कार्यान्वयनमा आउँदैनन् भने त्यो सम्बन्धित विषयमाथि ख्यालठट्टा नै हो ।
सरकार गठन भएको पनि १० महिना पुरा भएको छ । सरकारले यो दशौँ महिनामा आएर बल्ल सुशासनलाई सम्झिएको जस्तो देखिएको छ, त्यो पनि व्यङ्ग्यात्मकरूपमा । व्यङ्ग्यात्मक यस कारणले कि भर्खर मात्रै प्रधानमन्त्रीको अध्यक्षतामा १५ जना मन्त्रीको संख्या राखेर सुशासन आयोग गठन भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको यो सुशासन आयोगमा रहेका अध्यक्षदेखि सदस्य सबैजना त्यस्ता व्यक्ति वा पदाधिकारी हुन् जसले आफूहरू सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र बुझाउनै पर्ने सम्पत्ति विवरण बुझाएका छैनन् । बुझाएका थिए भने त्यो विवरण सार्वजनिक हुनुपर्ने थियो । तर भएको छैन सुशासन भनेको अर्थात् हरेक कुरा पारदर्शी हुनुपर्ने पहिलो सूत्रबाट चल्ने विषय हो । सुशासनको त्यो पहिलो सूत्र नै उल्लङ्घन गरेर बनेको आयोगले आफैँ कस्तो सुशासन कायम गर्ला र गराउँला भन्ने प्रश्न स्वभाविक रुपमा उठ्ने नै भयो । निश्चय नै सुशासन कायम हुनु भनेको भ्रष्टाचार र बेथिति नियन्त्रणमाथि नियन्त्रण गरिनु हो । सुशासनको मूल सिद्धान्त उल्लङ्घन गर्ने निकाय नै सरकार मानिन्छ । त्यसमाथि अरू निकायले नियन्त्रण गर्छन् । तर यतिबेला प्रधानमन्त्री आफैँ त्यस्तो निकाय बन्न गएका छन्, जसले आफूले गरेको सुशासनका कामहरू देख्दैन वा जोगाउँछ । त्यस कारण पनि प्रधानमन्त्रीको अध्यक्षता मन्त्रीहरू रहेको यो आयोगमाथि प्रश्न उठेको हुनुपर्छ ।
व्यवहारमा हेर्दा वर्तमान सरकार सुशासनभन्दा धेरै टाढा देखिन्छ । जतिबेला पनि प्रधानमन्त्री देशमा सुशासन कायम भएका भन्ने गर्दछन् । तर यता वास्तवमा सुशासन छैन । छ भने त्यसको मान्यताअनुसार कायम भएको छैन । त्यस्तो हुन्थ्यो भने या १० महिनामा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गरेका हुन्थे होलान् । अरू त अरू कम्तीमा यो सुशासन आयोगमा राखिएका सदस्यहरूले त त्यसो गरेकै हुनुपर्ने हो तर भएन । यतिबेला यस्तो आयोग बनाएर सरकारले आफूले गर्ने कुशासनलाई छोपछाप पार्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । सरकारले जवाफ देओस् । सुशासन भाषणको विषय होइन आम नागरिकले व्यवहारमा अनुभूति गर्ने कुरा हो । बरु सरकारले आफूमाथि लागेका विभिन्न आरोप र काण्डहरुको कानुन बमोजिम छानबिन गरोस ।
प्रतिक्रिया