काठमाडौँ - आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नामिवियाको विण्डहक सहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।
युनेस्कोले यस वर्ष अर्थात् २०२५ का लागि द इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन प्रेस फ्रिडम एण्ड द मिडिया भन्ने तय गरेको छ । नेपालीमा यसको अनौपचारिक अनुवाद प्रेस स्वतन्त्रता र मिडियामाथि कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रभाव भनेर गर्न सकिन्छ । यस्तै अन्तरराष्ट्रिय पत्रकार महासङ्घ (आइफजे) ले टाइम टु पुट एआइ अन द सोसल एजेण्डा भन्ने विषय (थिम) तय गरेको छ । नेपालीमा यसको अनौपचारिक अनुवाद एआइ (कृत्रिम बौद्धिकता) लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय आएको छ भनेर गर्न सकिन्छ । यी विषय अर्थात् नारा स्वयंमा निकै महत्वपूूर्ण मात्र छैनन् विगतको तुलनामा अर्थपूर्ण पनि छन । निश्चिय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित छ भन्दा अतिसयोक्ति हुँदैन । विशेष गरी इन्टरनेटको विकास भएपछि सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ । त्यसो त आजको विश्वमा एआइले प्रभावित नगरेको वा गर्न नसक्ने सम्भवतः कुनै पनि क्षेत्र छैन । तर सञ्चार र पत्रकारिता क्षेत्र एआइबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो भन्दा गलत नठहर्ला ।
आजको विश्वमा पत्रकारिताले आफ्नो स्वरुप र शैलीमा द्रुत गतिमा निरन्तर परिवर्तन गरिरहेको छ । आजको पत्रकारिता ‘कम्प्युटर एसिस्टेड रिपोर्टिङ–कार’ (कम्प्युटरको सहयोगमा आधारित रिपोर्टिङ) मा धेरैजसो निर्भर रहन थालेको छ । यो यथार्थलाई स्वीकार गर्ने हो भने एआइको हस्तक्षेप स्वीकार गर्नैपर्ने हुन्छ । एआइले तथ्यको खोजी र परीक्षणका सन्दर्भमा कम्प्युटरमा रहेका सबै जानकारीमाथि पहुँच स्थापित हुने क्षमता राख्दछ जो मानिसका लागि असम्भवप्रायः छ ।
आएएफजेले यसपटकको नारामा एआइका सन्दर्भमा सोसल एजेण्डा शब्दावली प्रयोग गरेको छ र यसको सोझो रुपमा नेपाली अनुवाद हुन्छ, सामाजिक मुद्दा । यो नाराका आधारमा भन्ने हो भने पत्रकारितामा एआइको विधिवत् प्रयोगलाई स्वीकारमात्र गरेको छैन बरु यसलाई पत्रकारिता गर्ने सन्दर्भमा सामाजिक मुद्दा मान्न पनि आह्वान पनि गरिएको छ । युनेस्कोको नामराको विश्लेषण गर्ने हो भने भन सकिन्छ, हो, इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमहरुलाई तीव्र बनाएको छ। प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ र यसै सेरोफेरोमा प्रेस स्वतन्त्रताप्रति सचेत हुन पनि अवस्था पनि सिर्जना भएको छ । पत्रकारितालाई व्यावसायिक पत्रकारहरुको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्याउने काम गरेको डिजिटल प्लेटफर्म र एआइलाई पछिल्लो समयमा सशक्त माध्यमका रुपमा स्वीकार गरिएको छ । आज यस्तो अवस्था आइसकेको छ, जहाँ एआइबिनाको पत्रकारिताको कल्पना गर्न नसकिने अवस्था उत्पन्न भएको छ । माथि उल्लेख गरिएका सन्दर्भमध्ये कति विषय उचित र कति अनुचित हुन् त्यसका बारेमा बहस चल्दै गर्ला । तर वर्तमान अवस्थाले दुईवटा कुरा बडो गम्भीर ढङ्गले सोच्न उत्प्रेरित गरेको छ, त्यो हो पहिलो, पत्रकारिताको रचनात्मक र विश्वसनीयताको पक्ष कमजोर बन्दै जानु र दोस्रो हो, प्रेसमाथि डिजिटल प्रविधिको बढ्दो हस्तक्षेप ।
प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कूपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्ता सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’ को अवधारणालाई अनुशरण गर्न सकेको हुँदैन । तर एआइ ‘प्रयोग’ भएको हुनसक्छ । यसले निश्चय पनि समाचारमा विश्वसनीयताको सङ्कट निम्त्याउँछ । जान्नेहरुले एआइलाई आफूअनुकूल ‘प्रयोग’ गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । ‘डाटा मेनिपुलेशन’को सम्भावनाले एकातिर विश्वसनीयताको सङ्कट निम्त्याउन सक्छ भने अर्कोतिर प्रविधिको अत्यधिक प्रयोग गर्न सक्नेको पहुँचमा पत्रकारिता जान सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।
एआइको प्रयोग हार्ड न्यूज (घटनाप्रधान समाचार) का सन्दर्भमा त पूरै लागू हुन सक्छ तर पत्रकार सचेत र जिम्मेवार भयो भने सफ्ट न्यूज का सन्दर्भमा पत्रकारिताको मौलिकता जोगिन सक्छ । पछिल्लो प्रकारको समाचारको आधार खोजी पत्रकारिता हो । यसमा ‘कारण’ र ‘परिणाम’को खोजी गर्नु आवश्यक हुन्छ भन्ने बुझाइका आधारमा पत्रकारको सक्रियता बढ्न सक्ने अपेक्षा गरिनु अनुचित हुँदैन । यसो भयो भने एआइ र डिजिटल प्रविधि पत्रकारका लागि सहयोगी हुन सक्छ र पत्रकारको सक्रियताले पत्रकारिताको रचनात्मकता जोगिन सक्छ ।
आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि मानिसले प्रतिस्पर्धा गर्नसक्ने सम्भावनाका सन्दर्भमा क्रमशः चुनौती थपिँदैछन् । माथि पनि चर्चा गरियो आज पत्रकारितामा एआइ र रोबोटको प्रयोग भइरहेको अवस्था छ । प्रविधिको यस हदसम्मको प्रयोगले पत्रकारितालाई क्रमशः परनिर्भरतातर्फ धकेलिरहेको छ भन्दा अस्वाभाविक हुँदेन । यस्तोमा पत्रकारिताको मौलिकतामाथि सङ्कट निम्तिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यसको एकमात्र उपाय छ, त्यो हो पत्रकारको स्वसक्रियता । पत्रकारले प्रविधि निर्देशित विषयमा भर पर्नुको साटो आफूले कारण र परिणामको औजार प्रयोग गरेर खोजेको विषयलाई प्रविधिको सहयोगले थप सशक्त बनाउनु आवश्यक छ ।
आजको समयमा एआइको अस्तित्वलाई अस्वीकार गर्न सकिने अवस्था छैन । माथि चर्चा गरेजस्तै प्रत्येक क्षेत्रमा एआइको बढदो प्रयोगले सामाजिक मूल्य मान्यता नै प्रभावित हुन सक्ने अवस्था रहेको वर्तमान समयमा एआइ र यसले सिर्जित गरेको प्रभावको मूल्याङ्कन निश्चय पनि पत्रकारिताको महत्वपूर्ण विषयवस्तु हुने कुरामा दुई मत हुन सक्दैन । यो अवस्था भनेको पत्रकारिताका लागि एआइ साध्य र साधन दुवै बन्न सक्ने सम्भावना हो । यो यथार्थलाई पत्रकार र पत्रकारिताले जतिसक्दो छिटो स्वीकार गरेर आवश्यक रणनीति तय गर्नु अपरिहार्य छ ।
प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा प्रेस जगतले आफ्रनै समीक्षा पनि निर्मम ढंगले गर्न आवशयक छ । आज पत्रकारिताको क्षेत्रमा अभूतपूर्व विकास भएको छ । एआइको बारेमा माथि नै चर्चा गरिएको छ । तर अभ्यासमा अझै पनि प्रशस्त कमजोरीहरु छन् । नेपालको सन्दर्भमा त पत्रकारिता कतै विभिन्न शक्तिकेन्द्रहरुको स्वार्थपूर्ति गर्ने माध्यम बनेको हो कि भन्ने आम आरोप छ । खासगरी ठूला मिडिया जसले आफूलाई मूलधारको पत्रकारिता पनि भन्ने गर्दछन् उनीहरु व्यावासायिकताबाट विचलित भएको देखिन्छ । अर्थ, राजनीति र अन्य शक्तिकेन्द्रको गोटी बनेको आरोप खुलेयाम लाग्न थालेको छ । राजनीतिक परिवर्तनको आन्दोलनका मुद्धाहरुमा मूलधारको प्रेसले पेसागत मर्यादा र भूमिका निर्वाह गरेको देखिदैन । विश्लेषक भरत दाहालले त ठूला मिडियाहरु विदेशी एडमा बिक्रि भएको समेत आरोप लगाउने गर्दछन् । त्यसैले आजको दिनमा कम्तिमा आम पत्रकारले आफ्नै पेसाप्रति इमान्दार भएर समीक्षा गर्दा त्यसको प्रभाव र परिणाम राम्रै होला भन्ने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया