उत्तम विचारको शब्द रचनामा बबिना भट्टराईको ‘गजलका कुराले’ सार्वजनिक (भिडियो)

शनिबार, २० बैशाख २०८२, १६ : २४

काठमाडौं- पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ । 

यसैबीच उत्तम विचार भेटुवालको शब्द रचनामा बबिना भट्टराईको स्वर तथा संगीत रहेको ‘गजलका कुराले’ सार्वजनिक भएको छ । नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ ।

नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।

यो गजलमा गजलकारको मन, आत्मा, र विचारहरू गजलमा समर्पित छन् । गजल मार्फत उनी सान्त्वना, ऊर्जा, परिवर्तन, र सौन्दर्य दिन चाहन्छन्,  गजल एउटा अनुभूति हो, जुन बोल्दैन तर भित्रसम्म बोल्छ, दुःखीलाई सान्त्वना, सुकेकोलाई भिजाइ, मौनतालाई लय दिन्छ ।

यति विम्वात्मक, प्रतिकात्मक, जीवन्त एवं अर्थपूर्ण गजल लेख्ने गजलकार हुन् कवि तथा गजलकार उत्तम विचार भेटुवाल । उनका भावनात्मक गहिराई, प्रतीकात्मकता, र आत्मिक उथलपुथलका श्रृंखला बोकेका, बादल वर्षा, बिजुली, मरुस्थल, मन, मुटु, नदी, प्यास, प्रेम, समर्पण आदिलाई विषय बनाएर अघि बढेका गजलका  शेरहरु रहेका छन् । यो गजल अहिले निकै चर्चाको चुलीमा रहेकी गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्‌नो मधुर र लययुक्त स्वर एवं गजलको परम्परागत लय संगै आधुनिक प्रस्तुति मिसिएको संगीतमा सार्वजनिक भएको छ । 

उक्त गजलमा बिनोद भुजेलको एरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलकोे मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

ए.जे. अजुले गजलको गहिराइ र संगीतको लयलाई चित्रण गरि निर्देशन गरेका ‘गजलका कुरा’को  भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । ‘गजलका कुराले’ गजलको भिडियोमा  प्रिया नगरकोटीले श्रृङ्गार सहित उपेन्द्र लिम्वु हारमोनियम,दिपक सापकोटा तवला, जय वि।के गितारमा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् । गजल ‘गजलका कुराले’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

इमेज एफएम ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत गजलको अडियो सार्वजनिक गर्दै गजलकार उत्तम विचारले नेपाली गजल आकाश थप चौडा हुँदै गएको परिप्रेक्षमा अर्को एउटा बादलको चोइलो चोइलो थपिएको भान गरेको बताएका छन् भने गायिका तथा संगीतकार बबिना भट्टराईले निकै मेहनतका गाएकी आफ्‌नो यस गजललाई तपाईं तमाम पाठक, दर्शक, श्रोताले सुनेर हेरेर न्याय दिने अपेक्षा रहेको उनले बताएका छन् ।

गायिका तथा संगीतकार बबिना भट्टराईले गजल ‘गजलका कुराले’ सार्वजनिक भएको खुसी साट्दै भन्छिन्, ‘उत्तम विचार भेटुवालका  गहिरो भाव बोकेको यो गजललाई मेरो पोल्टामा हालिदिनु भएको र वहाँका शब्दहरुमा मेरो स्वर र संगीतमा सार्वजनिक भएको यो गजल यहाँहरु सबैले मन पराइदिने अपेक्षा राखेकी छु, गजल सुनेर तथा हेरेर गजलको बारेमा आफ्‌नो अमुल्य सल्लाह, सुझाव दिन पनि मेरा दर्शक तथा श्रोताहरुलाई अनुरोध गर्दछु साथै यस गजलको श्रृजनामा जोडिने सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।’  


 

शनिबार, २० बैशाख २०८२, १६ : २४

प्रतिक्रिया