काठमाडौं- असिनापानीले जुम्लाको स्याउखेतीमा क्षति पुर्याएको छ । गुठीचौर गाउँपालिकाको पूर्वी क्षेत्रमा असिनाले सबैभन्दा बढी स्याउका बिरुवामा क्षति गरेको हो । स्याउको चिचिला लाग्ने बेला परेको असिनापानीले क्षति गरेको गुठीचौर –३ का किसान दीपक बुढाले बताए ।
जिल्लामा चार हजार २५० हेक्टरमा स्याउखेती भइरहेको छ । सोह्र हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् । गत वर्ष रु ६१ करोड ४१ लाख स्याउ बिक्रीबाट भित्रिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
असिनाले स्याउमा गरेको क्षतिको विवरण स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर तथ्यांक संकलन भइरहेको कार्यालयले जनाएको छ । असिनाले करिब १० लाख जतिको स्याउमा क्षति भएको अनुमान गरिएको छ ।
किसान नुर्बु लामाले लामाले भने, “गत वर्ष स्याउबाट रु आठ लाख कमाएको र यस वर्ष स्याउ राम्रो फल्ने बेला असिनापानी क्षति गरेको छ । सो वडाका आफूसहितका नौ घर परिवारका स्याउमा असिनापानीले क्षति गरेको छ ।”
प्रमुख आम्दानीका रूपमा रहेको स्याउको चिचिला लाग्ने बेला पातसमेत झार्ने गरी परेको असिनाले स्याउका रूख टाकुला देखिने थालेको स्याउ किसान लामाको भनाइ छ ।
स्याउलगायत जौं, गहुँ, मकै, भोटे जिरालगायत बालीमा क्षति गरेको छ । गत वर्षतिर शिखर इन्स्योरेन्सले बिमा गरिदिएकाले किसानलाई राहत भएको थियो । यो वर्ष बिमा नहुँदा स्याउ किसान मर्कामा परेको लामाले बताए ।
गुठीचौर–२ मुडरीगाउँमा असिनापानीले स्याउमा क्षति गरेको वडाध्यक्ष दीपबहादुर ऐडीले बताए । कोल्ते, गुठीगाउँ र मुडुरीगाउँ लगायत करिब पाँच सय ५० घरपरिवारले लगाएको गहुँ, जौं, ओखर, स्याउ र बर्खे फलफूलमा क्षति गरेको छ । जौं र गहुँबाली भित्र्याउने बेला परेको असिनापानीले किसान चिन्तित भएको वडाध्यक्ष ऐडीको भनाइ छ । -रासस
प्रतिक्रिया