काठमाडौं— सुमेरु पोलिमर्स लिमिटेडले आगामी आर्थिक वर्षमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी थालेको छ। हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले पूँजी वृद्धि गर्दै २७ करोड पुर्याउने योजना बनाएको छ। कम्पनीले त्यसको ३० प्रतिशत अर्थात ८ करोड १० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्नेछ।
आईपीओ प्रक्रियालाई सहजीकरण गर्न कम्पनीले प्रोस्पेरिटी भेञ्चर्स प्रालिसँग सहकार्य गर्ने सम्झौता गरेको छ। उक्त सम्झौता सुमेरु पोलिमर्सका प्रवन्ध सञ्चालक दिवश घिमिरे र प्रोस्पेरिटी भेञ्चर्सका प्रवन्ध सञ्चालक कमल प्रसाद नेपालबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार, प्रोस्पेरिटीले कम्पनीलाई लगानी व्यवस्थापन, सहजीकरण तथा प्रारम्भिक परामर्श प्रदान गर्नेछ।
कम्पनीले यस आर्थिक वर्षभित्र संस्थापक समूहबाट थप ८ करोड ९० लाख रुपैयाँ पूँजी जुटाउँदै कुल संस्थापक पूँजी १८ करोड ९० लाख पुर्याउने योजना समेत अघि सारेको छ।
विसं २०७४ मा काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा स्थापना भएको सुमेरु पोलिमर्सले नेपालमै पहिलो पटक PVC, HDPE, र CPVC पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। पछिल्लो ३ वर्षदेखि वार्षिक २१ करोड रुपैयाँको कारोबार गरिरहेको कम्पनीले पूँजी विस्तारपछि आगामी वर्षमा कारोबार ३० करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीको हालको बजार क्षेत्र कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसम्म सीमित छ भने आगामी वर्षहरूमा सातै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ।
आव २०८०/८१ को वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ८.२४ रुपैयाँ र नेटवर्थ ११८ रुपैयाँ रहेको छ। कम्पनीले आवश्यक योग्यता पूरा गरेमा प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने सम्भावना पनि जनाएको छ।
प्रतिक्रिया