जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीच सम्झौता

विहीबार, २५ बैशाख २०८२, १५ : ४३

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । 

यस अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बताए । 

उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सोसँग सम्बन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ ।’

अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बीमा लगायतका व्यवस्थाहरुमा सचेतना जगाउनुपर्ने बताए ।

युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको बिपद प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताए । जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाई छ । 

नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जिविकोपार्जनबारे सहकार्य गरेका थिए । 

विहीबार, २५ बैशाख २०८२, १५ : ४३

प्रतिक्रिया