सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सांसदको माग

शुक्रबार, २६ बैशाख २०८२, १६ : २२

काठमाडौं– प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबीच चलेको शृङ्खलाबद्ध आक्रमणले नेपाललाई पर्न सक्ने प्रभावतर्फ गम्भिर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाकामा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा उनीहरुको जोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल शान्ति र स्थिरताको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताए । उनले भारत–पाकिस्तानबीच थप युद्धको अवस्था उत्पन्न भएमा नेपालमा पर्न सक्ने सुरक्षा, आपूर्ति र आर्थिक असरका साथै ति देशमा रहेका नेपालीको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन माग गरे।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए। नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्न सक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरे । भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति संकट हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उनको भनाइ छ ।

 
शुक्रबार, २६ बैशाख २०८२, १६ : २२

प्रतिक्रिया