काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चामा रहेका डा.विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
मंगलबार अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलविरुद्ध रिट दायर गरेका हुन् । उनीहरुले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै रिट दायर गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) मा राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था छ । ऐनविपरीत गएर पौडेललाई नियुक्त गर्न लागिएकाले नियुक्ति रोक्नुपर्ने रिटकर्ताको माग छ ।
यसअघि उप्रेती र थापाले नै डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दर्ता गरेका थिए ।
कामु गभर्नर नीलम ढुंगानाले गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि गभर्नरमा भट्टको विकल्पमा पौडेललाई ल्याउने सहमति भएको थियो । सहमति भएसँगै पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया