वालिङ नगरपालिकाले बसाइसराइ रोक्न कृषि विकास रणनीति बनाउँदै

बुधबार, ३१ बैशाख २०८२, ११ : १०

काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ । बसाइसराइको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खांणले जानकारी दिए ।

उनले भने,“गाउँ गाउँमा रहेको उर्वर भूमि बसाइसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ ।” कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बसाइसराइ रोकिने उनको भनाई छ । 

प्रमुख खांणले मेहनत गरे अनुसारको उत्पादन नहुँदा कृषक पेसाबाटै पलायन हुने अवस्था आएको बताए । गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको बुझाई छ । कुन ठाउँमा के खेती गर्न आवश्यक छ भन्ने स्पष्ट खाका बनाउनु नगरपालिकाको योजना रहेको प्रमुख खांणले बताए । 

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालीन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगर प्रवक्ता तथा वडा नं.१ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए । 

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थिति सहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिएका छन् । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाई छ । 

छलफलमा डाक्टर रामचन्द्र बस्ताकोटी,डाक्टर अम्मर शाह, नगेन्द्र बस्ताकोटी, अस्मिता नेपाल लगायतले कृषि विकास रणनीतिको आवश्यकता र महत्वका बारेमा जानकारी गराएको थिए । 

कृषि विकास योजना र रणनीति निर्माण पश्चात् पालिकाले कृषि र पशुपालनमा योजना बनाउन र काम गर्न सहज हुने विज्ञ डाक्टर रामचन्द्र बस्ताकोटीको भनाई छ । उनले भने,“काम गर्छु भन्ने कृषकलाई कुन ठाउँमा के काम गर्ने भन्ने स्पष्ट जानकारी दिन रणनीति आवश्यक छ ।”

बुधबार, ३१ बैशाख २०८२, ११ : १०

प्रतिक्रिया