ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी

बुधबार, ३१ बैशाख २०८२, १२ : १७

काठमाडौं– पुस्तौंदेखि आमा–छोरीबीचको सम्बन्धमा गाँसिएका मिलन र बिछोडका भावनात्मक आयामहरूलाई समेटेर तयार पारिएको मल्टिमिडिया कला प्रदर्शनी ‘पेटका केही कुरा’ (Some Things in the Belly) नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी छ।

कला प्रबन्धक (Art Curator) बुनु ढुङ्गाना द्वारा तयार गरिएको यस प्रदर्शनीमा चित्रकला, त्रिआयामिक स्थापना, कविता, चलचित्र, मञ्चन, चिठ्ठी, र सन्देशमूलक कलाकृतिहरू समावेश छन्। प्रदर्शनीमा नेपाली कलाकारहरू—अस्मिता वादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ति तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर—सहित बेलायती कलाकार रेचल लोवको पनि सहभागिता रहेको छ।

ब्रिटिस काउन्सिलको सहयोगमा लक्स (LUX) तथा आर्ट साउथ एसिया प्रोजेक्टले आयोजना गरेको ‘Art Exchanges: Moving Image South Asia’ कार्यक्रमअन्तर्गत यो प्रदर्शनी सम्पन्न भएको हो। यस कार्यक्रमले भिजुअल आर्ट क्युरेटरहरूलाई मेन्टरशिप, व्यावसायिक विकास, र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारका अवसर प्रदान गर्छ।

बुनु ढुङ्गाना २०२४ नोभेम्बरमा बेलायत गइ दक्षिण एसियाली क्युरेटरहरूसँग अनुसन्धान तथा नेटवर्किङ कार्यक्रममा सहभागी भएकी थिइन्। सो अनुभवको जगमा उनले बेलायत तथा नेपालका कलाकारहरूका चलायमान कलाकृति (moving image) समावेश गरी यो प्रदर्शनी आयोजना गरेकी हुन्। प्रदर्शनीले पुस्ता, संस्कृति र अनुभूतिको जटिल सम्बन्धबारे मौन संवादको साझा भाषा खोज्ने प्रयास गर्दछ।

पारम्परिक संरचनाहरूभन्दा बाहिर रहेर, आत्मीयताको चाहनाभित्रको दूरीलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न उठाइएको छ। प्रदर्शनी जेठ ३ गतेसम्म चल्नेछ। नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रत्येक दिन बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म खुला रहने यो प्रदर्शनी निःशुल्क प्रवेशसहित सबैका लागि खुला छ।

बुधबार, ३१ बैशाख २०८२, १२ : १७

प्रतिक्रिया