काठमाडौं— सञ्चारकर्मी गीता अधिकारीलाई नेपाली चलचित्र पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरूप ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ।
कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा बुधबार आयोजित १६औं संस्करणको प्रिज्मा डी।सिने अवार्ड समारोहका क्रममा अधिकारीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। समारोह प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा अधिकारीलाई सम्मानपत्र, खादा, माला र दोसल्ला ओढाएर सम्मान गरिएको हो।
समारोहमा अधिकारीले दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र पत्रकारितामा पुर्याएको योगदानको प्रशंसा गर्दै उनको सक्रियता र निरन्तरताको मूल्यांकन गरिएको थियो। सम्मानपत्रमा उल्लेख गरिएको छ, “चलचित्र पत्रकारितामा यहाँले देखाउनु भएको सक्रियता र निरन्तरता प्रशंसनीय छ। आगामी दिनमा पनि निरन्तर योगदानको अपेक्षासहित तपाईंलाई यो पुरस्कारबाट सम्मानित गरिएको हो।”
मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारीका एक दर्जनजति गीतहरू श्रोतामाझ आइरहेका छन्। त्यस्तै, ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृतिहरू पाठकमाझ लोकप्रिय छन्। मिलाप मासिक र अनलाइनकी कार्यकारी सम्पादकको भूमिकामा सक्रिय अधिकारीले राजधानी तथा मोफसलका विभिन्न पत्रपत्रिकाहरूमा महिला हिंसा, समसामयिक विषयवस्तु र साहित्यिक रचनाहरू निरन्तर प्रकाशित गर्दै आएकी छन्।
पत्रकारितासँगै गीत–साहित्य लेखन, अभिनय, रंगकर्म र सामाजिक सेवामा समेत सक्रिय रहिएकी अधिकारीको योगदानलाई समारोहमा विशेष रूपले सराहना गरिएको थियो।
त्यसैगरी, समारोहमा चलचित्रका विभिन्न २१ विधामा स्रष्टा तथा सर्जकहरूलाई समेत अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा कला, समाजसेवा र सञ्चारका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया