काठमाडौं- ‘नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता’ भन्ने मूल नाराका साथ नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटीईएएन) को १२ औं महाधिवेशन भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा भव्य रूपमा सम्पन्न भएको छ।
महाधिवेशनको उद्घाटन समारोह २०८२ जेठ १ गते नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल, र सञ्चालक सदस्य लोक बहादुर कटुवालको विशेष आतिथ्यता रहेको थियो।
७७ जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको महाधिवेशनमा संगठनले विगतमा खेलेको भूमिकाको समीक्षा गर्दै कर्मचारी, कम्पनी तथा सेवाग्राहीका हितमा आगामी कार्यदिशा तय गर्न गहन छलफल गरिएको थियो।
महाधिवेशनले मणिकुमार पोखरेलको नेतृत्वमा ४१ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित समितिमा वरिष्ठ उपाध्यक्ष आनन्द पौडेल, उपाध्यक्षहरू राज किशोर चौधरी, प्रकाश शर्मा, जगत प्रसाद भुसाल, छबीलाल न्यौपाने र सृजना सापकोटा रहेका छन्। महासचिवमा गोबिन्द ढुंगाना, उपमहासचिवहरूमा बचन ढुङ्गेल र दीपक चौलागाईं तथा कोषाध्यक्षमा मेघराज पोखरेल चयन भएका छन्।
कार्यक्रममा टेलिकममा क्रियाशील अन्य ट्रेड युनियन प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
महाधिवेशनले कर्मचारीको वृत्ति विकास, सेवा–सुविधा, तथा कम्पनीको व्यावसायिकतामा सुधार गर्न १४ बुँदे प्रस्ताव पारित गर्दै संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
महाधिवेशनको सफलताका लागि सहयोग पुर्याउने सबै अतिथि, प्रतिनिधि, स्वयंसेवक, पत्रकार, आयोजक र सह–आयोजकप्रति संगठनले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया