सुनसरीमा देखियो अफ्रिकन स्वाइन फिभर, ३६ बंगुर मरे

मंगलबार, ०६ जेठ २०८२, ०६ : ०७

सुनसरी- बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बंगुरको मृत्यु भएको छ । 

स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । 

बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बंगुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बंगुरको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा संक्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ ।

बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बंगुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै संक्रमण देखिएको डा महतोले बताए । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

मंगलबार, ०६ जेठ २०८२, ०६ : ०७

प्रतिक्रिया