‘साइबर’ कानुनबारे गाउँगाउँमा विद्यार्थी पढाउँदै प्रहरी

बुधबार, ०७ जेठ २०८२, १० : ५५

ओखलढुंगा– साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ । 

कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुङ्गाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए । 
 
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए । 

यसैबीच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि  कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन  गरेको थियो । 


 

बुधबार, ०७ जेठ २०८२, १० : ५५

प्रतिक्रिया